Jul 03 2026 | २०८३, आषाढ १९ गते

03 Jul 2026 | शुक्रवार, आषाढ १९ गते २०८३

शुक्रवार, आषाढ १९ गते २०८३
images
images

रास्वपालाई सूर्य थापाको प्रश्न - कहाँ क्लिन चिट दिएको छ, कारबाहीको अंग्रेजी अनुवाद क्लिन चिट हुन्छ ?

रास्वपालाई सूर्य थापाको प्रश्न - कहाँ क्लिन चिट दिएको छ, कारबाहीको अंग्रेजी अनुवाद क्लिन चिट हुन्छ ?

बुधवार , आश्विन २, २०८१

काठमाडौं । सहकारी संस्था बचत रकम दुरूपयोगसम्बन्धी संसदीय छानबिन विशेष समितिका सभापति सूर्य थापाले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि कारबाहीको सिफारिस गरिएको बताएका छन् ।

छानबिन समितिका सभापति थापाले ऋषि धमलासँगको एक टेलिभिजन अन्तर्वार्तामा बोल्दै क्लिन चिट नभएर कारबाहीको सिफारिस गरिएको बताएका हुन् ।

उनले क्लिन चिट हुन्छ भन्दै सभापति लामिछाने सहितका नेताहरूलाई प्रश्न गरे।

संसदको अंग बनिसकेको प्रतिवेदनको निष्कर्षलाई रास्वपाका नेताहरूले अपव्याख्या गरिरहेको बताउँदै कुन लाइन, कुन हरफमा क्लिन चिट लेखिएको छ भन्दै प्रश्न गरे।

छानबिन समितिका सभापति थापाले भने,‘जान्नेलाई छान्नुस्, हामी जान्ने हौं हामीलाई छान्नुस् भन्ने‍ मानिसले प्रतिवेदनमा लेखेको, चस्मा हेरेर खोलेर हेर्दा थाहा पाउने चिजको डिस्टोर्सन गर्ने? क्लिन चिट कहाँ छ? कुन लाइन, कुन प्यारामा छ? कारबाहीको सिफारिसको अंग्रेजीमा अनुवाद क्लिन चिट हुन्छ। सफाइ हुन्छ? कहाँ पढ्नुभएको हो, कुन स्कुलमा हो? कुन विश्वविद्यालयमा हो। म त यो भन्नु पर्‍यो नि त!’

समितिले गोर्खा मिडिया नेट्वर्कले खोलेको ग्यालेक्सी टेलिभिजन सञ्चालनका लागि देशका तीन ठूला सहकारीबाट ८१ करोड रुपैयाँ बढी भित्र्याएको तथ्य भेट्टाएको थियो ।

उक्त तथ्यकै आधारमा संसदीय समितिले रास्वपाका सभापति लामिछानेसहित चार जनामाथि कारबाहीको सिफारिस गरेको छ ।

तर,प्रतिवेदन संसदलाई बुझाएलगत्तै रास्वपाका सभापति लामिछानेसहित नेताहरूले सहकारीको बचत अपचलनमा आफ्नो भूमिका नदेखिएको भन्दै छानबिन समितिले क्लिन चिट दिएको बताएका थिए।

छानबिन समितिकै सदस्य शिशिर खनाल, उपसभापति स्वर्णिम वाग्ले र सांसद सुमना श्रेष्ठले क्लिन चिट नै दिएको तर्क गरेका थिए।

सोमबार संसद भवन बाहिर रास्वपा उसभापति वाग्लेले सभापति लामिछानेलाई मूल आरोपबाट ‘क्लिन चिट’ पाइएको दाबी गरेका थिए ।

सभापति थापाले राज्यका तत् तत् निकायलाई अनुसन्धान, कारबाही गर्न सिफारिस गरिसकिएकाले समितिका सभापतिलाई प्रतिवेदनबारे थप जवाफ दिन बाध्य नपार्न पनि आग्रह गरे ।

थापाले गोरखा मिडिया नेटवर्कले ग्यालेक्सी फोर के टिभी लगायतका मिडिया सञ्चालन गर्न सबै सहकारीको पैसा खर्च गरेको बताए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077