Jul 02 2026 | २०८३, आषाढ १८ गते

02 Jul 2026 | बिहिवार, आषाढ १८ गते २०८३

बिहिवार, आषाढ १८ गते २०८३
images
images

मन्त्री गुप्ताको बालहठले बहादुरमाईमा तमासा, राजनीतिक कार्यक्रममा पालिकाको स्रोतको चरम दुरुपयोग

मन्त्री गुप्ताको बालहठले बहादुरमाईमा तमासा, राजनीतिक कार्यक्रममा पालिकाको स्रोतको चरम दुरुपयोग

मंगलवार , आश्विन ८, २०८१

बीरगंज । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताको गृहजिल्ला पर्सामा रहेको बहादुरमाई नगरपालिकामा तमासा देखिएको छ ।

मन्त्रीमा बहाली भएपछि गुप्ताले सो पालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहम्मद शेरे मुस्तुफालाई च्याप्दा तमासा देखिएको हो ।

मुस्तुफालाई संरक्षण गर्दा मेयर सिंहासन साह तेली र मन्त्री गुप्ताबीच चरम द्वन्दको सिकार उक्त पालिका बन्न पुगेको छ । मेयर सिंहासन साह कुनै पनि हालतमा भ्रष्ट छविका मुस्तुफालाई कामकाज गर्न नदिने पक्षमा छन् ।

तर मन्त्री गुप्ता भने डेढ वर्षदेखि कार्यरत रहेर आफूलाई आर्थिकदेखि सबै सहयोग गर्ने मुस्तुफालाई त्यहाँबाट हटाउने पक्षमा छैनन् ।

मेयर साह पटक पटक उनलाई हटाउन काठमाडौंमा पुगेर पर्साबाट प्रतिनिधित्व गर्ने मन्त्रीहरू प्रदीप र अजय चौरसियासँग हारगुहार गरिसकेका छन् । जसपाबाट निर्वाचित साह तेलीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई समेत गुहारिसके ।

तर मन्त्री गुप्ता मुस्तुफाविना पालिका नै चल्न नदिने गरी मेयर साहलाई असफल बनाउने चलखेलमा छन् । खानेपानी मन्त्री प्रदीप यादवको निर्वाचन क्षेत्रमा पर्ने उक्त पालिकामा मेयर र कार्यकारीको द्वन्द्व भएपछि नगर परिषद् समेत हुन सकेको छैन ।

जसका कारण नगरपालिकाको विकास ठप्प छ । कर्मचारीले साउनदेखि नै तलब खान पाएका छैनन् । खानेपानी मन्त्री यादवले गुप्तालाई पटक पटक भेटेर बहादुरमाईको समस्या हल गर्न मुस्तुफालाई सरुवा गरिदिन अनुनय बिनय गरिसके ।

मुस्तुफाको ठाउँमा गुप्ताले अर्को कुनै प्रमुख प्रशासकीय अधिकृत लगे हुन्छ भन्दा पनि यादवको याचना सुनुवाइ हुन सकेको छैन । मन्त्री गुप्ताका राजनीतिक कार्यक्रमदेखि लिएर पारिवारिक गर्जो टार्ने मुस्तुफाको पक्षमा उपमेयर सुस्मा कुशवाहा लगायतका केही वडाध्यक्ष लागेका छन् ।

मुस्तुफाको नगर कार्यपालिकामा बहुमत वडाध्यक्ष छन् । तर बहुमतको सुनवाइलाई मन्त्री गुप्ताले आलटाल गर्दै बालहठ देखाएर उक्त नगरपालिकालाई अनिर्णयको बन्दी बनाउँदै आएका छन् । गाडीदेखि लिएर सबै नगरपालिकाका स्रोत साधन गुप्ताको सहयोगमा लगाएका मुस्तुफाले मेयर लगायतका बहुमत सदस्य विपक्षमा हुँदा पनि टिकिरहन खोज्नुलाई आश्चर्यको रूपमा हेरिएको छ ।

आज मंगलबार २ बजे मन्त्री गुप्ताले सो पालिकाको ६ नं वडामा पार्टीको कार्यक्रम राखेका छन् । आइतबार गृहजिल्ला पुगेका गुप्ताको उक्त कार्यक्रमलाई सफल बनाउन प्रमुख प्रशासकीय अधिकृत मुस्तुफाले पालिकाभरका सबै कर्मचारीलाई उपस्थित हुन उर्दी जारी गरेका छन् ।

राजनीतिक कार्यक्रममा कर्मचारी, शिक्षकलाई सहभागी हुन प्रमुख प्रशासकीय अधिकृतले निर्देशन दिएपछि मेयर सिंहासनले मंगलबार नै १ बजे कर्मचारीसहितको बैठक बोलाएका छन् । सो बैठकले एमालेको राजनीतिक कार्यक्रममा उपस्थित हुन फतवा जारी गर्ने मुस्तुफामाथि कारबाहीको प्रक्रिया अगाडि बढाउने निर्णय गर्ने एक वडाध्यक्षले बताए ।

मन्त्री गुप्ताको सो राजनीतिक कार्यक्रममा मुस्तुफाले पालिकाको बजेट नै परिचालन गरेको आरोप छ । मन्त्री जिल्ला भ्रमणमा रहँदादेखि लिएर उनको राजनीतिक र पारिवारिक कार्यक्रममा बहादुरमाईको आर्थिक स्रोतसाधन दुरुपयोग हुँदै आएको छ ।

सो दुरुपयोगमा मुस्तुफाकै अग्रसरतामा भइरहेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायतका जिम्मेवार निकायबाट उनका यस्ता मनपरीमा लगाम लगाउने कदम अगाडि बढ्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077