Jul 02 2026 | २०८३, आषाढ १८ गते

02 Jul 2026 | बिहिवार, आषाढ १८ गते २०८३

बिहिवार, आषाढ १८ गते २०८३
images
images

ठेकेदारले कार्यालयमै छिरेर प्रमुख प्रशासकीय अधिकृत कुटेपछि...

ठेकेदारले कार्यालयमै छिरेर प्रमुख प्रशासकीय अधिकृत कुटेपछि...

'दुई पक्राउ, मुख्य आरोपितको खोजी जारी'

बिहिवार , आषाढ १८, २०८३

चितवन। चितवनको इच्छाकामना गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्र कान्त बस्नेतमाथि कार्यकक्षमै कुटपिट गरिएको छ। 

बिहीबार बिहान इच्छाकामना गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बस्नेतमाथि कार्यकक्षमै प्रवेश गरी केही व्यक्तिले सामूहिक रूपमा कुटपिट गरेका थिए।

घटनापछि प्रशासकीय अधिकृत घाइते भई इच्छाकामना आधारभूत अस्पतालमा उपचाररत छन्।

चितवनका प्रहरीका अनुसार अधिकृत बस्नेतलाई गाउँपालिकाको कार्यकक्ष भित्र प्रवेश गरी निर्माण व्यवसायी लालबहादुर तामाङसहितका ६ जनाको समूहले कार्यकक्षमै पुगेर हातपात गरेका हुन् ।

 गाउँपालिकाका एक कर्मचारीका अनुसार आक्रमणकारीहरूले खोलाबाट ढुंगागिट्टी उत्खननसम्बन्धी मुद्दामा गाउँपालिकाले अदालतबाट जितेको विषयलाई लिएर आक्रमण गरेको बताएका छन् ।

हिजो जिल्ला अदालत चितवनमा मुद्दाको सुनुवाइ थियो।

खोलाबाट ढुंगागिट्टी उत्खननसम्बन्धी मुद्दामा गाउँपालिकाले अदालतबाट पक्षमा फैसला पाएपछि त्यसको रिसइबी साँध्न आफूलाई आक्रमण गरिएको उनले बताए ।

'हामीलाई मुद्दा किन हराइस् भन्दै कार्यकक्षमै आएर कुटपिट गरे र परिवारलाई समेत जे पनि गर्न सक्ने धम्की दिए,' उनले भने ।

यसैगरी गाउँपालिकाका कर्मचारीहरूले संयुक्त रूपमा एक विज्ञप्ति हस्ताक्षर गर्दै घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कडा कारबाहीको माग गरेका छन्। कर्मचारीहरूले कार्यालय परिसरमै भएको घटनाले कर्मचारीको सुरक्षामाथि गम्भीर प्रश्न उठाएको जनाउँदै दोषीमाथि कानुनी प्रक्रिया अघि नबढेसम्म कार्यालयको नियमित कामकाज गर्न असहज हुने बताएका छन्।

साथै यस्ता घटना भविष्यमा दोहोरिन नदिन कार्यालयमा सुरक्षित कार्य वातावरण सुनिश्चित गर्न तथा कर्मचारीले निर्धक्क रूपमा आफ्नो जिम्मेवारी निर्वाह गर्न सक्ने अवस्था सिर्जना गर्न सम्बन्धित निकायको तत्काल ध्यानाकर्षण गराइएको विज्ञप्तिमा उल्लेख छ।

यता घटनामा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ भने घटनामा प्रयोग भएको गाडीसमेत नियन्त्रणमा लिइएको छ । साथै मुख्य आरोपितसहित अन्य संलग्न व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ।

जानकारी प्राप्त हुनासाथ सुरक्षा निकाय परिचालन गरी खोजी कार्य तीव्र बनाइएको थियो।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077