सुर्खेत । कर्णाली नदीमा यात्रुसहितको हाइस खसेको छ ।
सुर्खेतबाट कालिकोटका लागि छुटेको कर्णाली ०३–००१ ख १०५५ नम्बरको यात्रुवाहक फोर्स गाडी कर्णाली नदीमा खसेको हो ।
उक्त दुर्घटना कर्णाली राजमार्ग अन्तर्गत दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिकास्थित साङ्गेतडामा भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।
प्रहरी कार्यालयका अनुसार ५०० मिटर तल खसेको गाडी पुरै नदीमा डुबेको छ ।
बुलबुले यातायातको उक्त फोर्स गाडीमा १४ जना यात्रु सवार थिए । त्यसैले ठूलो हताहतीको भएको अनुमान गरिएको छ।
प्रहरीका अनुसार दुर्घटनास्थलमा उद्धार टोली पुगिसकेको भए पनि गाडी नदीमा डुबेका कारण अहिलेसम्म फेला पर्न सकेको छैन ।
हाल बेपत्ता गाडी र यात्रुको खोजी तथा उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ । घटनाबारे थप विवरण आउन बाँकी छ ।