मोरङ । मोरङको सुन्दरहरैँचा नगरपालिका–७ सलकपुरमा मंगलबार दिउँसो भएको सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन्।
प्र.१–०१–००१ ख ४३०३ नम्बरको ट्रकमा को.१० प ८१२८ नम्बरको मोटरसाइकल ठक्कर खाँदा मोटरसाइकल चालक धनकुटाको छथरजोरपाटी गाउँपालिका–१ का २० वर्षीय अनिष बुढाथोकीको ज्यान गएको हो।
दुर्घटनामा गम्भीर घाइते भएका बुढाथोकीको विराटनगरस्थित कोशी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
सोही दुर्घटनामा मोटरसाइकलमा सवार अन्य दुई जना घाइते भएका छन्। उनीहरूलाई थप उपचारका लागि विराटनगरकै नोबेल अस्पताल पठाइएको छ।
प्रहरीले ठक्कर दिने ट्रकका चालकलाई नियन्त्रणमा लिएको छ। घटनाका सम्बन्धमा आवश्यक कानुनी कारबाही र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।