धनगढी । कैलालीको धनगढीमा मोटरसाइकललाई ठक्कर दिएपछि गाडीसहित फरार भएका भारतीय नागरिकलाई प्रहरीले केही घण्टामै पक्राउ गरेको छ ।
आइतबार राति करिब पौने १० बजे धनगढी उपमहानगरपालिका–३ स्थित बोराडाँडी चोकमा युपी ६५ ईएक्स ०१०० नम्बरको भारतीय गाडीले से ४ प ९५२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएर चालक घटनास्थलबाट फरार भएका थिए ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) योगेन्द्र तिमिल्सिनाका अनुसार भारतको उत्तर प्रदेशको वाराणसी निवासी ४२ वर्षीय अश्वनी कुमार सिंहलाई सोमबार राति करिब १ः३० बजे पक्राउ गरिएको हो ।
प्रहरीका अनुसार दुर्घटनापछि सिंह गाडीसहित गोदावरी नगरपालिका–६ लालपुरस्थित आफ्नो ससुराली घरमा लुकेर बसेका थिए । प्रहरीले त्यहीँबाट उनलाई नियन्त्रणमा लिएको हो ।
दुर्घटनामा संलग्न चालकको खोजीका लागि कैलालीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) नरेन्द्र चन्द र डीएसपी तिमिल्सिनासहितको टोली प्रत्यक्ष रूपमा परिचालन भएको थियो ।
दुर्घटनामा मोटरसाइकलको पछाडि सवार बैतडीको सिगास गाउँपालिकाका ४८ वर्षीय पदम चन्दको घटनास्थलमै मृत्यु भएको थियो । उनको उपचारका क्रममा राति पौने ११ बजेतिर माया मेट्रो अस्पताल धनगढीमा मृत्यु भएको हो ।
उनको शव पोस्टमर्टमका लागि राति पौने १ बजे सेती प्रादेशिक अस्पताल धनगढी पठाइएको थियो । दुर्घटनामा परी मोटरसाइकल चालक धनगढी उपमहानगरपालिका– ३ का ४३ वर्षीय गौतम ऐर घाइते भएका छन् । दुर्घटनापछि घाइते मोटरसाइकल चालक पनि फरार थिए ।
सोमबार बिहान साढे चार बजे ऐर सिपी अस्पताल धनगढीमा उपचारत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । उनको बाहिर देखिने चोट र टाउको र खुट्टामा भित्री चोट रहे पनि अवस्था सामान्य रहेको डीएसपी तिमिल्सनाले जानकारी दिए ।
मोटरसाइकललाई ठक्कर दिएपछि भागेको भारतीय नम्बर प्लेटको कारको खोजीका लागि घटना लगत्तै अस्थायी प्रहरी पोस्ट चटकपुर बाट प्रहरी सहायक निरीक्षक डबलबहादुर साउदको कमाण्डमा प्रहरी टोली खटिएको थियो ।
कार फेला पर्न नसकेपछि एसपी चन्द र डीएसपी तिमिल्सिना सोमबार बिहान सवा १ बजेतिर आफै खोजीमा निस्किएका थिए । कैलाली प्रहरीले पक्राउ परेका सिंहलाई हिरासतमा राखेर घटनाबारे थप अनुसन्धान थालेको छ ।