धनगढी । कैलालीका विभिन्न स्थानबाट प्रहरीले शनिबार अवैध लागुऔषध खैरो हेरोइनसहित १२ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दुई जना किशोरसमेत रहेका छन् ।
कैलाली प्रहरीका अनुसार धनगढी उपमहानगरपालिका–२ स्थित त्रिनगर ब्यारेलमा भारतबाट नेपालतर्फ आउँदै गरेका गोदावरी नगरपालिका–६ लालपुरका २० वर्षीय राहुल भुल र २० वर्षीय लोकेन्द्र खड्काको साथबाट ३ ग्राम ८०० मिलिग्राम खैरो हेरोइनजस्तो देखिने पदार्थ बरामद गरिएको हो ।
प्रहरी चौकी त्रिनगरबाट खटिएको टोलीले शंकाका आधारमा जाँच गर्दा उनीहरूलाई नियन्त्रणमा लिएको जनाएको छ ।
त्यसैगरी, धनगढी–२ स्थित सिसा पोस्ट नजिक जिल्ला प्रहरी कार्यालय कैलालीको टोलीले गौरीगंगा नगरपालिका–८ बडैपुरका २० वर्षीय बेद धामीसहित चार जनालाई ११० मिलिग्राम खैरो हेरोइनजस्तो पदार्थसहित पक्राउ गरेको छ ।
धनगढी–१ त्रिवेणी घाट क्षेत्रमा अस्थायी प्रहरी पोस्ट शान्तिनगरबाट खटिएको प्रहरी टोलीले स्थानीय २१ वर्षीया अस्मित कठरिया र २३ वर्षीय मनिष चौधरीलाई २ ग्राम २७० मिलिग्राम खैरो हेरोइनजस्तो पदार्थसहित नियन्त्रणमा लिएको छ।
यस्तै, टिकापुर नगरपालिका–१ स्थित साथी अस्पताल नजिक इलाका प्रहरी कार्यालय टिकापुरको टोलीले १७ वर्षीय र १६ वर्षीय दुई किशोरलाई ३९० मिलिग्राम खैरो हेरोइनजस्तो पदार्थसहित पक्राउ गरेको जनाएको छ ।
यसैगरी, बर्दगोरिया गाउँपालिका–२ बौनिया बजारबाट इलाका प्रहरी कार्यालय सडकपुर बौनियाँको टोलीले लम्कीचुहा नगरपालिका–८ गप्काका २७ वर्षीय महेन्द्र ओखेडा र मोहन्याल गाउँपालिका–६ सुगरखालका ३० वर्षीय उपेन्द्र जैशीलाई ३५० मिलिग्राम खैरो हेरोइनजस्तो पदार्थसहित पक्राउ गरेको छ ।
पक्राउ परेका व्यक्तिहरूमाथि लागुऔषधसम्बन्धी कसुरमा थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।