Jul 13 2026 | २०८३, आषाढ २९ गते

13 Jul 2026 | सोमवार, आषाढ २९ गते २०८३

सोमवार, आषाढ २९ गते २०८३
images
images

अर्बौ भ्याट छली गर्ने ३० वटा कवाडीका ट्रक छाड्न राजस्वमा चलखेल, डीजी नै सेटिङमा मुछिए !

अर्बौ भ्याट छली गर्ने ३० वटा कवाडीका ट्रक छाड्न राजस्वमा चलखेल, डीजी नै सेटिङमा मुछिए !

आइतवार , आषाढ २८, २०८३

काठमाडौं । सशस्त्र प्रहरी बलको टोलीले राजस्व छलीको आशंकामा नियन्त्रणमा लिई राजस्व अनुसन्धान बिभागमा बुझाएका १० वटा भन्दा बढी कवाडी लोड भएका ट्रक छाड्नका लागि एक समूह मोलमोलाइमा लागेको छ ।

स्रोतका अनुसार ललितपुरको सानेपाबाट बरामद गरिएका ती बिलबिजक र कागजात नभएका कबाडी बोकेका १० वटा ट्रक छुटाउन रोशन चौधरी कलवारको समूहले राजस्व अनुसन्धान बिभागका महानिर्देशक तीर्थराज चिलुवाललाई बोलकबोल गरिसकेको छ ।

ट्रक छुटाउनका लागि बिमल बोहरा नामका बिचौलियाले प्रतिट्रक ४ लाखका दरले मागेको स्रोत बताउँछ । स्रोतका अनुसार महानिर्देशक चिलुवालका भाइमार्फत् कुरा मिलाइसकेकाले बोहराले उक्त दररेट अनुसार संकलन गरेर ट्रक छुटाउनेगरी लागेका छन् । 

असार १९ गते शुक्रबार नै ती ट्रक छुटाउनका लागि बिभागका महानिर्देशक चिलुवालसँग चौधरीको समूहले सेटिङ मिलाइसकेको थियो । तर प्रधानमन्त्री कार्यालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट सोधीखोजी भएपछि महानिर्देशक हच्केका थिए ।

असार १५, १६ र १७ गते सशस्त्र प्रहरी र नेपाल प्रहरीले करिब ३० वटा कवाडी बोकेका ट्रक काठमाडौंबाट नियन्त्रणमा लिई राजस्व अनुसन्धान बिभागमा बुझाएका थिए । मूल्य अभिबृद्धि कर (भ्याट) छलीदेखि आवश्यक कागजात देखाउन नसकेपछि ती ट्रक प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ ।

भोजपुरी मिथिला ट्रेडर्स प्रा.लि., जय श्री शम्भु प्रा.लि., राजेश इक्जिम ट्रेडर्स र श्रीगणेश ट्रेडर्सका नाममा रहेका क्रमशः ना ५ ख १७१० र ना ६ ख ३८५३  लगायतका नम्बरका गाडी प्रहरीले नियन्त्रणमा लिएको थियो ।

यी सबै गाडी आर एण्ड भालेश्वर ट्रेड कन्सर्नदेखि बिभिन्न नाममा कम्पनी दर्ता गरेका रोशन चौधरीकै समूहका हुन् । श्रीगणेश ट्रेडर्सदेखि माथिका सबै फर्मका गाडी समातिएका छन् ।

श्रीगणेश ट्रेडर्सदेखि उल्लेखित सबै फर्मका संचालक नै बोलाएर कर फस्र्योट गरेको कागजात ल्याएपछि उनीहरुकै जिम्मामा छाड्नुपर्नेमा बिमल बोहरा नामका बिचौलियाले राजस्वका महानिर्देशक चिलुवाललाई दररेट अनुसार बुझाएर छुटाउने गरी सेटिङ मिलाएको स्रोत बताउँछ ।

बालेन्द्र शाह नेतृत्वको सरकारले यी कवाडी कम्पनीका संचालकहरुको खोजीनीति गर्ने हो भने ५० औं करोड कर छली फेलापर्ने छ । राजस्व अनुसन्धान बिभागका महानिर्देशक चिलुवालले रोशन चौधरीको गिरोहका बरामद ट्रकहरुको छानबिन गर्न आन्तरिक राजस्व बिभागमा पठाउनुपर्नेमा पठाउन आनाकानी गर्दैआएका छन् ।

बार्षिक २ अर्ब भ्याटछली गर्ने यो गिरोहले लामो समयदेखि राजस्व अनुसन्धान बिभागको नेतृत्वसँग सेटिङ गर्दैआएको छ । राजस्व अनुसन्धान बिभागका वर्तमान महानिर्देशक चिलुवाल, पूर्वमहानिर्देशक चण्डी घिमिरे, तत्कालीन निर्देशक राजन बिसीको समूहले सेटिङ रहँदैआएको छ ।

राजस्व अनुसन्धान बिभागका हरेक महानिर्देशकसँग सेटिङ मिलाउन कवाडीको यो गिरोहले उपसचिव बिसीलाई नै परिचालन गर्दैआएको थियो ।

लामो समय राजस्व अनुसन्धान बिभागमा कार्यरत बीसीले नै कवाडीमा हुने गरेको अरबौं भ्याटछलीका बारेमा उजुरी पर्दा पनि ठूलो घुस लेनदेन गरी कारबाहीबाट रोकेको आरोप छ ।

चण्डी र चिलुवालमात्र होइन, त्यसअघिका नवराज ढुंगानालाई समेत उनले सेटिङ गरी रोशन चौधरीको अरबौंको नक्कली भ्याटबिलको केससमेत होल्डमा राखेका थिए ।

बार्षिक २ अर्ब भ्याटछली गर्ने गिरोहले बिभिन्न ठाउँका गरिब नेपालीको नागरिकताका आधारमा कम्पनी खोलेर करोडौं करोडमात्र होइन, अरबौंको कारोबार गर्ने र भ्याट नतिर्ने, फेरि अर्को कम्पनी खोल्ने, पुनः भ्याटछली गर्ने गरी नेपाललाई खोक्रो बनाउने काम गर्दैआएको छ ।

चण्डी घिमिरेदेखि चिलुवालसम्मलाई कवाडीले अरबौं भ्याटछली गरेको उजुरी दिंदा पनि उल्टै तिनै गिरोहसँग लाभ लिएर उन्मुक्ति दिंदैआएका छन् ।

राजस्व अनुसन्धान बिभागले बरामद ट्रकका वास्तविक संचालक उपस्थित गराएरमात्र ट्रक दिने अडान लिने हो फेला नै नपर्ने र अरबौं करछलीको एकएक तथ्य फेलापर्नेछ । 

उल्लेखित कवाडी ढुवानी कम्पनीका अतिरिक्त २० वटा भन्दा बढी कम्पनी रोशन चौधरीको समूहले बिभिन्न ब्यक्तिका नागरिकताका आधारमा दर्ता गरेका छन् । कम्पनी जसका नाममा छ, उसलाई बोलाउने हो भने बास्तविक ब्यक्ति नै उपस्थित हुन सक्दैनन् ।

स्रोतका अनुसार भ्याटछली गर्न नक्कली नागरिकताका आधारमा फर्म दर्ता गरिएको प्रहरीले छानबिन गरेमा खुल्नेछ । राजस्व अनुसन्धान बिभागले कम्पनीको नाममा अख्तियारी लिएर आउने ब्यक्तिलाई होइन, वास्तविक संचालकलाई उपस्थित गराएर ट्रक छाड्नुपर्ने र राजस्व छलीमा छानबिन हुनुपर्छ ।

काठमाडौंको बल्खु, कलंकी, ललितपुरको एकान्तकुना क्षेत्रमा दैनिक रूपमा २० देखि ३० वटा कवाडी लोड गरेका गाडीहरू काठमाडौंको नाका थानकोट बाहिरिने गरेका छन् । ललितपुर, काठमाडौं र धादिङका प्रहरीका हाकिमहरुलाई मासिक लाखौं बुझाएर कवाडी बोकेर जाने गरेका छन् ।

रोशन चौधरीले प्रहरीसँग सेटिङ गरेकाले नसमातेपछि सशस्त्र प्रहरीले ती ट्रकहरु नियन्त्रणमा लिने परिस्थिति निम्तिएको थियो । काठमाडौं, ललितपुर र भक्तपुरबाट जाने कवाडी बोकेका गाडीसँग रोशन चौधरीले धुनिबेसी नगरपालिकाको ठेक्का लिएको आर एण्ड आर भालेश्वर ट्रेड कन्सर्नको नाममा निकासी कर असुली गर्दैआएका छन् ।

धुनिबेसीको ठेक्का लिएको भालेश्वरले गैरकानुनी रुपमा ललितपुर र काठमाडौंबाट जाने कवाडीका गाडीको कर असुली गर्दैआएको छ ।

उपत्यकाबाट संकलित कवाडी सामानहरू फलाम, ब्याट्री, तामा, बुन्दा, पितल जस्ता वस्तुहरू काठमाडौं बाहिर भैरहवा, वीरगञ्ज लगायतका स्थानमा रहेका स्टील उद्योगहरूमा पठाउने गरिएको, ती उद्योग नै उपत्यकाका कवाडी ठेकेदारका ग्राहक रहँदै आएका छन् ।

कवाडी सञ्चालकहरूले एक गाडीको भ्याट काटेर दैनिक एक कवाडी सञ्चालकले सेटिङको आधारमा आधा दर्जन गाडी उपत्यका बाहिर पठाउने गरेको र उपत्यकामा यस्ता सञ्चालक कम्तिमा आधा दर्जन रहेको तथ्य खुलेको छ । कवाडी सञ्चालक र स्थानीय प्रहरी प्रशासनसंग सेटिङ कायम गरेर कम्तिमा वार्षिक रूपमा २ अर्बको भ्याट छली हुँदै आएको छ । 

आन्तरिक राजस्व विभागले चौमासिक रूपमा भ्याट विवरण दाखिला गर्नुपर्ने नियम ल्याएपछि सोझा नेपालीका नाममा भारतीय गिरोहले फर्म दर्ता गरी भ्याटमा दर्ता हुने र करोडौं रकम भ्याटमा जम्मा नगरी नेपाल बाहिर पठाउने र अर्को चौमासिकसम्म अर्को कम्पनीबाट कारोबार गर्ने गरेका छन् ।

यस्ता कम्पनीले ५० औं करोड भ्याट नतिरेको थाहा हुँदाहुँदै पनि राजस्व अनुसन्धान बिभागका महानिर्देशक तीर्थराज चिलुवालले केही महिनाअघि नियन्त्रणमा लिएका ट्रकहरु पनि सेटिङमा छाडेका थिए । स्रोत भन्छ–रोशन चौधरीको समूहसँग ठूलो दररेट असुली ती ट्रक छाडिएका थिए ।  

प्रायः नेपालका स्टिल उद्योगले खरिद गर्ने गरेका कवाडीहरूमा भ्याट बापतको रकम सरकारी खातामा जम्मा नगरी भारतीय नागरिक रोशन चौधरीको कवाडी गिरोहले व्यवसायिक फर्म परिवर्तन गरी नेपाली मुद्रा अपचलन गर्ने र कारोबारलाई निरन्तरता दिँदै आएका छन् ।

१० करोड माथिको कारोबार अनलाइन बिलिङबाट गर्नुपर्ने विद्यमान कानूनलाई गिरोहहरूले १० करोड पुग्न लागेपछि अर्कै फर्म मार्फत् कारोबार गर्ने गरेको दैनिक महानगरपालिकाको ललितपुरको बल्खु र काठमाडौंको कलंकीमा रहेको धर्मकाँटा (कर बुथ संकलन केन्द्र) बाट २० देखि २५ गाडी (प्रत्येक गाडीमा १५ टन) सो कर संकलन केन्द्रको डाटाबाट देखिन्छ ।

रोशन चौधरीको करमारा समूहले मासिक अर्बौं भ्याटबापतको रकम भारत पठाउने काम गिरोहहरूले गर्दै आइरहे पनि स्थानीय प्रशासन मौन जस्तै छ । दैनिक साँझ ८ बजेपछि गिरोहहरूले दर्जनौं भ्याट छलिका कवाडी सामान लोड गरिएका ट्रकहरू उपत्यका छाड्दा पनि कारवाही नहुने भएकोले राम्रै सेटिङ रहेको पुष्टि हुन्छ ।

कवाडीजन्य वस्तु स्टील उद्योगले प्रति के।जी। गिरोहलाई भ्याटसहित कवाडी सामान खरिद गर्ने गरेका छन् । तर गिरोहले भ्याट प्राप्त गरे पनि सरकारी खातामा जम्मा नगरेर भारत पठाएर अर्बको भ्याट बापतको कर छली गरेका छन् ।

तसर्थ वालेन्द्र शाह नेतृत्वको सरकारले नेपाली सोझा नागरिकका नाममा कम्पनी र फर्म दर्ता गरेर अर्बौं भ्याट रकम अपचलन गर्ने भारतीय नागरिकको गिरोहलाई सख्त कारबाही गर्ने क्रम राजस्वले नियन्त्रणमा लिएका ट्रकबाटै गरोस् भन्ने माग भइरहेको छ ।

अर्बौ भ्याट छली गर्ने ३० वटा कवाडीका ट्रक छाड्न चलखेल भएको बारेमा  डीजी चिलुवालसँग प्रतिक्रियाका लागि अनलाइन नेपालले प्रयास गर्दा सम्पर्क हुन सकेन ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077