Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

प्रधानमन्त्री ओली र चिनियाँ नेताहरुबीच भेटवार्ता

प्रधानमन्त्री ओली र चिनियाँ नेताहरुबीच भेटवार्ता

आइतवार , कार्तिक ४, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल भ्रमणमा रहेको चिनियाँ कम्युनिष्ट पार्टीका केन्द्रीय कमिटीका सदस्यहरुबीच शिष्टाचार भेटवार्ता भएको छ ।

चिनियाँ कम्युनिष्ट पार्टीका सिङहाइ प्रान्तका सेक्रेटरी छेन् गाङ्ग नेतृत्वको प्रतिनिधिमण्डलले आज प्रधानमन्त्री ओलीसँग शिष्टाचार भेट गरेको हो।

बालुवाटारमा भएको भेटमा दुई देश र दुई पार्टीबीचको आपसी सम्बन्धलाई अझ सुदृढ बनाउने विषयमा छलफल भएको प्रधानमन्त्री सचिवालयले जनाएको छ।

एमाले अध्यक्षसमेत रहेका ओलीले चिनियाँ कम्युनिस्ट पार्टी र महासचिव सी जिनपिङको नेतृत्वमा चीनमा गरिबीको अन्त्यसहित भएको चौतर्फी विकास असाधारण रहेको उल्लेख गर्दै नेपाल त्यस विकासबाट लाभ लिन चाहने बताए।

प्रधानमन्त्री ओलीले राजनीतिक स्थिरताका लागि दुई ठूला दल एमाले र नेपाली कांग्रेसबीचको सहकार्यमा नयाँ सरकार गठन भएको जनाउँदै नेपालको आर्थिक विकासमा चीनको निरन्तर सहयोगको अपेक्षा गरे।

प्रधानमन्त्री ओलीले दुई मुलुकबीच सरकार–सरकार, जनता–जनताका साथै व्यापारिक, पौराणिक र सांस्कृतिक सम्बन्ध रहेकाले उच्चस्तरीय भ्रमणको आदानप्रदानको क्रमलाई निरन्तरता दिनुपर्ने बताए।

प्रधानमन्त्री ओलीले नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध रहँदै चीनविरुद्धका कुनै पनि गतिविधिका लागि नेपाली भूमि प्रयोग गर्न नदिनेमा नेपाल सदैव स्पष्ट रहेको स्मरण गराए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077