काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशन चितवनमा जारी छ । आजबाट शुरु भएको महाधिवेशनले पार्टीको पदाधिकारी चयन गर्नेछ ।
रास्वपाले २०८२ मंसिर २१ गतेको प्रतिनिधिसभा निर्वाचना अघि मात्रै पार्टीमा मिसिएको बालेन्द्र शाह ‘बालेन’ समूहलाई स्पेस दिनका लागि पनि आन्तरिक गृहकार्य गरेको स्रोतले बतायो ।
बालेनको समूहबाट एक–एक जना उपसभापति र महामन्त्री मनोनीत गर्ने विषयमा छलफल चलिरहेको नेताहरूले बताएका छन् ।
बालेन समूहबाट तत्कालीन समयमा २६ जना केन्द्रीय सदस्य मनोनीत भएका थिए । पछि भूपदेव शाहलाई पार्टीको महामन्त्री बनाइयो । अब बन्ने केन्द्रीय समिति र पदाधिकारी टीममा पहिले भन्दा बढी स्पेस दिने गरी गृहकार्य भएको रास्वपा स्रोत बताउँछ ।
रास्वपाले आफ्नो विधान संशोधन गरेर केन्द्रीय सदस्य संख्या १५१ पुर्याएको छ । यसमध्ये ५१ जना सभापतिले मनोनित गर्नेछन् ।
यस्तै एक उपसभापति, एक महामन्त्री र दुई सहमहामन्त्री पनि सभापतिले मनोनित गर्ने व्यवस्था मिलाइएको छ । बालेनतर्फका आकांक्षीहरूलाई समेट्नका लागि यो संशोधन गरिएको नेताहरूले बताइरहेका छन् ।
समायोजनतर्फका एक नेताले बालेन समूहबाट उपसभापति र महामन्त्री एक–एक जना मनोनीत हुने निश्चित रहेको बताए । सुनील लम्साललाई उपसभापति र भूपदेव शाहलाई महामन्त्री बनाउने तयारी छ ।
स्थापनतर्फका एक नेताले भने पदाधिकारीमा मनोनीत गर्ने व्यक्तिको बारेमा टुंगो नलागिसकेको बताए । लम्साल र शाहको नाममा छलफल भए पनि अध्यक्ष निर्णयमा नपुगिसकेको उनको दाबी छ ।
रास्वपामा सभापति, दुई उपसभापति, एक महामन्त्री, तीन सहमहामन्त्री र ९९ जना केन्द्रीय सदस्यहरुको मात्र चुनाव हुनेछ । बाँकी पदहरूमा सभापतिले मनोनीत गर्नेछन् ।