अछाम र जुम्लामा अप्रत्यासित नतिजा
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बहुमत नै ल्याएको छ । झण्डै दुई तिहाइ नजिक रहेको रहेको रास्वपाले प्रत्यक्षतर्फ १२५ स्थानमा जित हाँसिल गरेको छ भने समानुपातिकतर्फ पनि झण्डै ५० प्रतिशत मत प्राप्त गरेको छ । यद्यपी समानुपातिकतर्फ मतगणना जारी छ ।
कतिपय क्षेत्रमा उठेर चुनाव जितेका रास्वपाको उम्मेदवारहरुको अनुहार हेर्दा त्यहाँ जुनसुकै पात्र उठेको भए पनि जित्थ्यो भन्ने धेरैलाई लागेको छ र यथार्थ पनि त्यस्तै नै छ । उदाहरणका लागि मधेशको एक सिटमा उम्मेद्वारी खारेजीमा परेका रास्वपाका उम्मेद्वारको पक्षमा बहुमत आएको छ । जहाँको नतिजा अझै सार्वजनि भएको छैन ।
यसरी हेर्दा रास्वपाको ऐतिहासिक आँधीहुरी र जनमतको सुनामी आएकै बेला भावी प्रधानमन्त्रीको रुपमा रास्वपाको पक्षमा जबरजस्त माहौल तयार गरेका सो दलका वरिष्ठ नेता बालेन्द्र साहा ‘बालेन’लाई भने झट्का लागेको छ ।
बालेनले चुनावी अभियानमा समेत विशेष समय दिएका आफ्नै प्रिय पात्रलाई संसद सदस्य बनाउन सकेनन् । काठमाण्डौ महानगरपालिकाको मेयरको चुनावी दौडदेखि नै बालेनको दाहिने हात (राइट ह्याण्ड) भएर काम गरेका तथा मेयर भइसकेपछि समेत स्वकीय सचिव तथा सल्लाहकारको रुपमा सक्रिय भूपदेव शाहले शर्मनाक पराजय व्यहोरेका छन् ।
देशभर नै नयाँ राजनीतिक लहर सिर्जना गरिरहँदा अछाममा भने अचम्मको नतिजा आएको हो । रास्वपाका वरिष्ठ नेता बालेन्द्र साह ‘बालेन· कै कारण देशभर घण्टीमय बनेको यथार्थ हामीमाझ छर्लङ्गै छ । बालेनको तर्फबाट उम्मेदवार बनेका सबैले चुनावी नतिजा आफ्नो पक्षमा पार्दा बालेनका ‘राइट ह्याण्ड’ मानिएका भुपदेव शाह कसरी पराजित भए ? रास्वपाकै कार्यकर्ताहरु प्रश्न गर्छन् ।
अछाम–२ बाट प्रतिनिधिसभा निर्वाचनमा होमिएका साह ४ हजार ९५६ मतले पछाडि परे ।
यहाँ नेकपा एमालेका उम्मेदवार यज्ञ बहादुर बोगटीले ९ हजार ५१८ मतका साथ विजयी हुँदा दोस्रो स्थानमा नेपाली कांग्रेसका पुष्प बहादुर शाहले ९ हजार ४६ मत पाए ।
त्यसैगरी नेपाली कम्युनिष्ट पार्टीका बल बहादुर कुँवरले ६ हजार ४९३ मत पाउँदा भुप देव शाहले भने जम्मा ४ हजार ५६२ मात्रै मत पाउन सफल भए ।
त्यसो त रास्वपाका अधिकांश नेताहरु अत्याधिक मतान्तरका साथ विजयी हुँदा जुम्लामा भने रास्वपा उम्मेदवारको जमानत नै जफत भएको यथार्थ पनि हामीमाझ छ ।
रास्वपाकी उम्मेदवार विनिता कठायतले सदर मतको न्यूनतम १० प्रतिशत पनि प्राप्त गर्न नसक्दा जमानतसमेत जोगाउन असफल भएकी हुन्।
जुम्लामा प्रतिस्पर्धामा रहेका १० उम्मेदवारमध्ये ६ जनाले आवश्यक मत कटाउन नसक्दा जमानत जफत भएको हो। निर्वाचनसम्बन्धी कानूनी व्यवस्थाअनुसार गणना भएको सदर मतको १० प्रतिशत मत ल्याउन नसक्ने उम्मेदवारको जमानत जफत हुने प्रावधान छ।
जुम्लामा खसेको ४० हजार ८ सय ७८ मतमध्ये १ हजार ७ सय ५ मत बदर भएको थियो भने ३९ हजार १ सय ७३ मत सदर भएको थियो। सो आधारमा उम्मेदवारले कम्तीमा ३ हजार ९ सय १७ मत ल्याउनुपर्ने थियो।
तर, रास्वपाकी उम्मेदवार कठायतले ४ सय २१ मत मात्रै प्राप्त गरिन्। यस्तै नेपाल मजदुर किसान पार्टीका बिर्खबहादुर रावतले ४ सय मत, प्रगतिशील लोकतान्त्रिक पार्टीका मनऋषि धितालले १ सय १३ मत, नेकपा माओवादीका बिर्खबहादुर शाहीले ७० मत, नेपाल जनता पार्टीका रनिल विक्रम शाहीले ४३ मत र स्वतन्त्र उम्मेदवार भक्तबहादुर रावलले १४ मत प्राप्त गरेपछि उनीहरूको जमानत जफत भएको हो।
निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का ज्ञानबहादुर शाही (ज्ञानेन्द्र) १४ हजार ८ सय १६ मतसहित विजयी भएका छन्। उनले नेकपाका उम्मेदवार नरेश भण्डारीलाई ३ हजार १ सय ८१ मतान्तरले पराजित गरेका हुन्। भण्डारीले ११ हजार ६ सय ३५ मत प्राप्त गरेका थिए।
त्यसैगरी नेपाली कांग्रेसका दिपबहादुर शाहीले ७ हजार १ सय ४३ मत प्राप्त गरे भने नेकपा एमालेका शान्तिलाल महतले ४ हजार ५ सय १८ मत ल्याए।