काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले ठेकेदारलाई रुखमा बाँधेर, उल्टो झुन्डाएर सडक नबन्ने बताएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र साह ‘बालेन’लाई लक्षित गर्दै सभापति थापाले यस्तो टिप्पणी गरेका हुन् ।
सर्लाही ४ गोडैतामा आयोजित पार्टीको चुनावी सभालाई सम्बोधन गर्दै सडक निर्माणको लागि कानून सुधारको आवश्यकता रहेको बताए।
उनले भने–‘सडक समयमै बन्न कम्तीमा पनि ४१ वटा कानूनले अवरोध सिर्जना गर्दो रहेछ। सबैभन्दा पहिलो कुरा नेपालमा सस्तोमा काम गर्नेले ठेक्का पाउने होइन कि गुणस्तरीय काम गर्छु र चाँडो सक्छु भन्नेले ठेक्का पाउने कानून नबनाउने बेलासम्म जसले सस्तोमा गर्यो भने त्यसले काम पाउने। चाहे वडामा गरोस्, चाहे नगरमा गरोस्, चाहे ठूलो बाटोमा गरोस्। त्यो गर्ने बेलासम्म जति पटक गर्छु भनेर आएपनि त्यो कानून रहने बेलासम्म कसैले पनि काम समयमा सम्पन्न गराउन नसक्ने रहेछ।’
उनले रास्वपाका वरिष्ठ नेता बालेन शाहलाई लक्षित गर्दै भने–‘हामी छलफलमा बहसमा सुनिरहेका छौँ म रुखमा लगेर बाँधिदिन्छु, काम गरेन भने उल्टो झुन्डाइदिन्छु भनेको सुनेका छौँ। त्यसरी सडक बन्दैन। त्यसका लागि आवश्यक कानून सुधार आवश्यक छ।’
केही दिनअघि रास्वपाले सुदूरपश्चिमको धनगढीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै २ वर्षमा सक्नुपर्ने काम २० वर्षसम्म नसक्ने प्रवृत्ति रहेको बताउँदै रास्वपाले डेढ वर्षमै सकाउने बताएका थिए । सँगै समयमा काम नगर्ने ठेकेदारलाई रुखमा झुन्ड्याइदिने अभिव्यक्ति दिएका थिए ।
त्यसको प्रतिवादमा कांग्रेस सभापति थापाले यस्तो बताएका हुन् । सबैलाई फटाहा भनेर आफ्नो हातमा चाबुक छ भन्दै तर्साएर मात्रै विकासले गति नसमात्ने उनले बताए । उनले भने–‘यस्तो चिन्तनले सुधार गर्छु भन्यो भने पनि दुर्घटना हुन्छ ।’
सडक समयमा नबनेको भन्ने गुनासो सबैसँग रहेको बताउँदै उनले त्यसमा आफूले काम गरेको पनि बताए ।
सभापति थापाले भने–‘सडक समयमा किन बन्दैन भनेर केही समयदेखि नेपाली कांग्रेसमा पूर्वाधार मीमांसा भनेर एउटा कार्यक्रम मैले चलाइरहेको छु ।’
त्योभन्दा पहिलो आफूले हुलाकी राजमार्गको यात्रा गरेको बताउँदै उनले भने–‘मैले पुल हेरेँ, सिँचाइको नहर हेरेँ, सबै कुरा हेरेँ । र, काठमाडौं गइसकेपछि मैले एउटा मिसन जस्तो काम गरेँ । त्यो काम गर्दा आफूले कम्तीमा पनि ४१ वटा कानूनले अवरोध सिर्जना गर्दो रहेछ भन्ने थाहा पाएको उनले बताए ।
थापाले भने–‘सबैभन्दा पहिला त के बदल्नुपर्ने रहेछ नेपालमा भने सस्तोमा काम गर्नेले ठेक्का पाउने होइन कि, गुणस्तरीय काम गर्छु र चाँडो सक्छु भन्नेलाई ठेक्का दिने कानून नबनाउँदासम्म जति चटक गरेर आए पनि त्यो कानुन रहँदासम्म काम समयमा नसकाउने रहेछ ।’