काठमाडौं । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले हाल नेपालमा देखिएको मूल्यवृद्धि अर्थतन्त्रमा गम्भीर असर पारेको बताएका छन् ।
शुक्रबार प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै मन्त्री लम्सालले यो मूल्यवृद्धिले राज्यको अर्थतन्त्रमा गम्भीर असर पारेको बताएका हुन् ।
मन्त्री लम्सालका अनुसार निर्माण सामग्री र इन्धनमा भएको अस्वाभाविक पूर्वाधार मन्त्रालयको बजेट ठूलो दबाबमा रहेको मन्त्री लम्सालले जानकारी दिए ।
मन्त्री लम्सालकाअनुसार करिव २० दिन अगाडिसम्मको तथ्यांक हेर्दा पूर्वाधार मन्त्रालयको बजेट सीमाभन्दा करिव ३७ अर्ब रुपैयाँले घाटामा गइसकेको छ ।
मन्त्री लम्सालले भने- 'अहिलेको यो मूल्यवृद्धि नेपालकै इतिहासको सबैभन्दा ठूलो मूल्यवृद्धि हो र निर्माण क्षेत्रका लागि यो एउटा ठूलो संकट पनि हो । करिव २० दिन अगाडिसम्मको तथ्यांक हेर्दा हाम्रो मन्त्रालयको बजेट लगभग ३७ अर्ब जति घाटामा गईसकेको थियो । त्यतिबेला डिजेलको मूल्यमा पनि एकदमै धेरै वृद्धि भइरहेको थियो । सबैभन्दा बढी डिजेल खपत हुने क्षेत्र नै निर्माण व्यवसायी वा कन्स्ट्रक्सन इन्डस्ट्री हो । यसले गर्दा राज्यलाई पनि घाटा भयो र निर्माण व्यवसायीहरूलाई पनि ठूलो मर्का पर्यो ।'
यद्यपी मन्त्री लम्सालले निर्माण व्यवसायीहरूलाई काम नरोक्न र निर्माण कार्यलाई गति दिन आग्रह गरेका छन् । विशेषगरी सडकको ‘बेस’ तयार भएका ठाउँमा तत्काल कालोपत्रे नगरे राज्य र व्यवसायी दुवैलाई ठूलो क्षति हुने उनको भनाइ छ ।
निर्माण क्षेत्र अहिले आर्थिक दबाब, मूल्यवृद्धि र भुक्तानी समस्याबाट प्रभावित भएको स्वीकार गर्दै व्यवसायीलाई ढुक्क भएर काममा लाग्न आग्रह गरे ।
बैठकमा निर्माण व्यवसायीहरूले सम्पन्न कामको भुक्तानी नपाएको, अत्यधिक मूल्यवृद्धिका कारण लागत बढेको तथा म्याद थपमा जटिलता रहेको गुनासो गरेका थिए । त्यसको जवाफमा मन्त्री लम्सालले सरकारले कानुनी र नीतिगत सुधारमार्फत समस्या समाधान गर्न पहल गरिरहेको बताए ।
साथै मन्त्री लम्सालले निर्माण क्षेत्रमा ढिलासुस्ती र गुणस्तरहीन काम स्वीकार्य नहुने स्पष्ट पार्दै खरिद सम्झौताअनुसार तोकिएको समयमै काम सम्पन्न गर्न व्यवसायीहरूलाई निर्देशन दिए।