काठमाडौं । नेकपा एमालेबाट निष्कासित नेता डा.भीम रावलले एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो ५१ वर्षको राजनीतिक जीवन समाप्त गर्न खोजेको बताएका छन् ।
एमालेबाट निष्कासित भएपछि आज पहिलोपटक पत्रकार सम्मेलन गर्दै नेता रावलले यस्तो बताएका हुन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा सुशासन ल्याउन खोजेको भनेर पत्याउनुपर्ने हो भन्दै प्रश्न गरे।
नेता रावलले भने,‘मेरो ४९ वर्षको पार्टी सदस्यता खोस्ने र ५१ वर्षको राजनीतिक जीवन समाप्त गर्न खोज्ने, पार्टीले प्रतिक्रियावादी र देशद्रोही भनिएकाहरू भ्रष्ट, अनैतिक, विचौलिया र दलालहरूसँग साँठगाँठ गरी केपी ओलीले देशमा के सुशासन र समाजवाद ल्याउन खोजेको भनेर पत्याइदिनुपर्ने हो र ?’
उनले वर्तमान सरकारले भ्रष्टाचार काण्डहरूमा ठूला भनिएकाहरूलाई जोगाउने काम गरिरहेको आरोप लगाए। सत्तामा हालीमुहाली गर्ने भनिएकाहरू नै हस्तक्षेप गर्ने उपकरण बनेका उनको आरोप छ ।
रावलले आफू राष्ट्रिय स्वाधीनता, स्वाभिमान र जनविजिकाको पक्षमा झण्डा उठाउन अग्रसर भएको बताए ।
रावलले केपी ओली गुटको निष्काशनपछि आफू देश र जनताको हितका लागि विकल्पको बाटो हिँड्न बाध्य भएको बताए ।