काठमाडौं । नेकपा एमालेबाट निकालिएका नेता डा.भीम रावलले बालुवाटार जग्गा प्रकरणमा विष्णु पौडेलका छोरालाई अध्यक्ष केपी शर्मा ओलीको इशारामा जोगाइएको आरोप लगाएका छन् ।
बुधबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता रावलले यस्तो आरोप लगाएका हुन् । उनले बालुवाटार जग्गा प्रकरणमा मुछिएका नेता विष्णु पौडेलका छोरा नवीन पौडेललाई अध्यक्ष ओलीको इशारामा जोगाइएको आरोप लगाए।
उनले सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मीलाई पनि ओलीकै इशारामा उन्मुक्ति दिइएको आरोप लगाए। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ओलीको इशारामा जग्गा फिर्ता गरेकाले मुद्दा नचलाउने भनी निर्णय गरेको बताए।
बालुवाटारस्थित ललितास निवासको सरकारी जग्गा विष्णुप्रसाद पौडेलका छोरा नवीन र सर्वोच्च न्यायाधीश रेग्मीले अनियमित रुपमा किनेको अवस्थामा सरकारलाई फिर्ता गर्न मञ्जुर गरेकोले अख्यितारले मुद्दा दायर गर्न नमिल्ने भनी गरेको निर्णय ओलीकै इशारामा भएको रावलको दाबी थियो ।
ओली अघिल्लो पटक प्रधानमन्त्री हुँदा जन्मदिन मनाउन ४ वटा हेलिकोप्टरबाट तेह्रथुममा विराटनगरबाट तयारी खाना ओसार्न लगाएको पनि रावलले बताए ।