काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले प्रभु बैंक, गोर्खा मिडिया र रवि लामिछानेको समूहबीच आपराधिक साठगाँठ भएको दाबी गरेका छन् ।
रास्वपा सभापति रविलाई छुटाउन प्रभु बैंकको ‘ग्यारेन्टी’ बसिदिएपछि सोमबार बिहान सामाजिक सञ्जालमार्फत नेता बस्नेतले यस्तो दाबी गरेका हुन् ।
पूर्व गहृमन्त्रीसमेत रहेका रविलाई छुटाउन प्रभु बैंक हालसम्म तीन वटा जिल्ला अदालतमा ‘ग्यारेन्टी’ बसिदिएको छ । नेता बस्नेतले प्रभु बैंकले गरिब र सामान्य युवाहरूले व्यवसाय गर्न चाहेमा सानो ऋणसमेत दिन आनाकानी गर्ने तर रवि लामिछाने र गोर्खा मिडियालाई रातारात बिना धितो ठूलो रकम उपलब्ध गराएको विषयमा प्रश्न उठाए ।
गरिब युवाहरूले व्यवसायका लागि परियोजना र सर्टिफिकेट धितो राखेर ऋण माग्दा बैंकहरूले विश्वास नगर्ने तर रवि लामिछानेसँग जोडिएका व्यवसायिक र मिडिया गतिविधिहरूका लागि प्रभु बैंकले २ करोड २५ लाख रूपैयाँ बिना धितो उपलब्ध गराएको तथ्यले गम्भीर शंका उब्जाएको उनले बताए ।
उनले गोर्खा मिडियाका सञ्चालक जिबी राईले विभिन्न सहकारीहरूबाट ठगी गरेर ग्यालेक्सी टेलिभिजन सञ्चालन गरिरहेको र त्यसलाई प्रभु बैंकले संरक्षण गरिरहेको आरोप लगाएका छन् । 'केही न केही गलत र अपराधिक कर्ममा यिनीहरूको साठगाठ हुनुपर्छ', नेता बस्नेतले भने ।
बस्नेतले यो विषयमा गहिरो छानबिन गरी दोषीलाई कडा कारबाही गर्न माग गरेका छन् । अहिलेसम्म प्रभु बैंक रविका लागि दुई करोड २५ लाख रुपैयाँका लागि ग्यारेन्टी बसिसकेको छ ।
[insert page='328571' display='yopanipadhnuhos.php']
आइतबार मात्रै प्रभु बैंकले रविका लागि सुप्रिम सहकारी ठगी प्रकरणमा रूपन्देही जिल्ला अदालतमा एक करोड बैंक ग्यारेन्टी राखिदिएको छ ।
त्यसअघि बैंकले पोखराको सूर्यदर्शन सहकारी ठगीमा कास्की जिल्ला अदालतमा ६५ लाख र काठमाडौंको स्वर्णलक्ष्मी सहकारी प्रकरणमा काठमाडौं जिल्ला अदालतमा ६० लाखको बैंक ग्यारेन्टी राखिदिएको थियो । यस घटनाले प्रभु बैंक विवादमा तानिएको छ ।