काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले वसन्तपञ्चमी तथा सरस्वती पूजाको अवसरमा आज शुभकामना सन्देश दिएका छन् ।
उनले विद्याकी देवी माता सरस्वतीको पूजाअर्चना गरी मनाइने यस पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहेका सबै नेपाली दिदीबहिनी, दाजुभाइ र सम्पूर्ण बालबालिकाहरूलाई हार्दिक शुभकामना व्यक्त गरेका छन्।
राष्ट्रपति पौडेलको सन्देशमा भनिएको छ, ‘माता सरस्वतीलाई शिक्षा, ज्ञान र सङ्गीतकी देवीका रूपमा पुजिन्छ। आजको यस शुभ दिनमा आफ्ना बालबालिकालाई विद्यालय भर्ना गरेर अक्षरारम्भ गराउँदा विद्याकी देवी सरस्वतीको सदा कृपादृष्टि हुने जनविश्वास रहँदै आएको छ।
सङ्गीतका पारखीका लागि सरस्वतीको साधना गर्ने प्रमुख दिन पनि वसन्तपञ्चमीलाई मानिँदै आइएको छ। नवीन कार्यको प्रारम्भ गर्न चाहनेले र लगनको साइत जुराउनुपर्ने विवाह, व्रतबन्ध आदि जस्ता शुभ कार्यका लागि यस दिनलाई रोजी विवाह, व्रतबन्ध आदि गर्ने प्रचलन पनि रहिआएको छ।’
उनले वसन्तपञ्चमी र सरस्वती पूजा केवल औपचारिकता मात्र नभई, हाम्रो जीवनलाई सदैव ऊर्जाशील बनाइराख्ने र नवीन खोजतर्फ प्रेरित गर्ने पर्व भएको उल्लेख गर्दै यसले मुलुकको सामाजिक तथा सांस्कृतिक विविधताबीच एकता कायम गरी मौलिक धार्मिक संस्कृतिको संरक्षण एवं संवर्द्धन गर्ने बताए ।