काठमाडौं । प्रतिनिधि सभा अन्तर्गतको कृषि तथा प्राकृतिक स्रोत समितिका सभापति अशोककुमार चौधरीले किसानका समस्या समाधानमा सरकार गम्भीर बन्नुपर्ने बताएका छन् ।
सोमबार २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवको मूल समारोहलाई सम्बोधन गर्दै उनले गुणस्तरीय बीउ, मल, सिँचाइ, कृषि बीमा, राहत तथा उत्पादनको उचित मूल्य सुनिश्चित गर्न तर्फ सरकारको ध्यान केन्द्रित हुनुपर्नेमा जोड दिएका हुन् ।
नेपालमा वार्षिक करिब ७० लाख मेट्रिक टन धान आवश्यक रहे पनि हाल करिब ६० लाख मेट्रिक टन मात्रै उत्पादन हुने गरेको उल्लेख गर्दै उनले किसानका समस्या समाधान गर्न सके उत्पादन वृद्धि गरी मुलुकलाई आवश्यक धान स्वदेशमै उत्पादन गर्न सकिने बताए ।
सभापति चौधरीले सरकारले धानको समर्थन मूल्य प्रतिक्विन्टल दुई हजार ८६५ रुपैयाँ तोके पनि किसानले व्यवहारमा उक्त मूल्य नपाएको भन्दै असन्तुष्टि जनाए।
उनले निजी क्षेत्र, चामल मिल तथा औद्योगिक क्षेत्रलाई किसानको उत्पादन समर्थन मूल्यमा खरिद गर्ने व्यवस्था गर्न सरकारसँग आग्रह गर्दै समर्थन मूल्य प्रभावकारी रूपमा कार्यान्वयन हुनुपर्नेमा जोड दिए ।
चौधरीले कृषि आधुनिकीकरण, कृषि बीमा, राहत तथा प्रविधिमैत्री कृषि प्रणाली विस्तारलाई प्राथमिकतामा राख्नुपर्ने उल्लेख गर्दै सरकारले किसानका वास्तविक समस्या पहिचान गरी समाधानतर्फ ठोस कदम चाल्नुपर्ने उनको भनाई थियो ।