एजेन्सी। हमासले युद्धविराम सम्झौताअनुसार शनिबार ३ इजरायली बन्धकहरूलाई रिहा गरेको छ।
रिहा हुुने बन्धकहरूमा एली शराबी, ओहद बेन अमी र ओर लेभी रहेका छन्। हमासले यी तीनै बन्धकहरूलाई रेडक्रसको जिम्मा लगाएको हो ।
रेडक्रसले उनीहरूलाई गाजाबाट इजरायल लैजानेछ। बन्धकहरू इजरायल पुगेपछि इजरायलले १८३ प्यालेस्टिनी कैदीहरूलाई रिहा गर्नेछ ।
१९ जनवरीमा कतारमा भएको युद्धविराम सम्झौता अन्तर्गत यो पाँचौं अदला-बदली हो। सम्झौता लागु भएयता हालसम्म १६ इजरायली र ५ थाई बन्धकहरूलाई रिहा गरिएको छ।
७ अक्टोबर २०२३ मा हमासका हजारौं लडाकुहरूले इजरायलमा आक्रमण गर्दा १२०० जना मारिएका थिए ।
सो आक्रमणमा २५० भन्दा बढी व्यक्तिहरूलाई बन्धक बनाइएको थियो। त्यसको केही घन्टाभित्रै इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले हमासविरुद्ध युद्धको घोषणा गरेका थिए।