काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तलाई टेलिफोन गरी अध्यादेशमा सहयोग गर्न आग्रह गरो छन् ।
माओवादी केन्द्र गुल्मीको चन्द्रकोट गाउँपालिका अधिवेशनलाई शनिबार सम्बोधन गर्ने क्रममा पुनले यसबारे जानकारी गराएका हुन् ।
सरकारले ल्याएका अध्यादेश संसदीय संसद्बाट स्वीकृत गर्न प्रमुख प्रतिपक्षी माओवादी केन्द्रसँग एमालेका महासचिव पोखरेलले सहयोग मागेका हुन् । अध्यादेशलाई स्वीकार गर्नका लागि सहयोग गरिदिनुपर्यो भनेर शनिबार आफूलाई एमाले महासचिव पोखरेलको फोन आएको र कुराकानी भएको माओवादी केन्द्रका उपमहासचिव पुनले बताए ।
'अध्यादेश स्वीकार गर्नका लागि सहयोग गर्नुपर्यो भनेर एमाले महासचिव पोखरेलले फोन गर्नुभएको थियो,' उनले भने, 'हाम्रो कुराकानी भयो ।'
सरकारले सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाह, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्वसम्बन्धी, निजीकरण ऐन–२०५० लाई संशोधन गर्न बनेको अध्यादेश, आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी अध्यादेश, सहकारीसम्बन्धी अध्यादेश र भूमिसम्बन्धी अध्यादेश ल्याएको थियो ।
तर प्रतिनिधिसभामा सुविधाजनक बहुमत भए पनि राष्ट्रियसभामा अल्पमतमा रहेको सरकारलाई अध्यादेश पारित गर्न सकस भएको छ ।