काठमाडौं । क्यारेबियन सागरमा ७.६ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएपछि त्यस आसपासका टापुहरूमा सुनामीको चेतावनी दिइएको छ ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यम बीबीसीले जनाए अनुसार भूकम्पपछि कोलम्बिया, केम्यान टापु, कोस्टारिका, होन्डुरास, निकारागुवा, र क्युबा लगायतका क्षेत्रहरूमा सुनामी चेतावनी जारी गरिएको हो।
अमेरिकी भूगर्भ सर्वेक्षण यूएसजीएसका अनुसार भूकम्पको केन्द्रबिन्दु होन्डुरासबाट करिब २० माइल .३२.१ किमी) उत्तर र केम्यान टापुबाट १३० माइल (२०९.२ किमी) दक्षिण-पश्चिम रहेको छ ।
राष्ट्रिय सुनामी चेतावनी केन्द्रले केही देशहरुमा अझै सुनामीको सम्भावना रहेको बताउँदै सावधानी अपनाउन भनेको छ । केही देशहरुमा भने यसको सम्भावना कम भएको बताउँदै केन्द्रले चेतावनी रद्द गरिसकेको छ ।
मुख्यगरी केम्यान टापु सरकारले भने अझै पनि सुनामी खतराको अवस्थामा रहेको भन्दै, तटीय क्षेत्रका बासिन्दाहरूलाई स्थलतर्फ सर्ने आग्रह गरेको छ ।