काठमाडौं । सरकारले सरकारी अस्पताल वा प्रतिष्ठानमा कार्यररत चिकित्सकले निजी क्लिनिकमा काम गर्नै नपाउने निर्णय गरेको झण्डै पाँच वर्ष वित्न लागिसक्यो ।
नेपाल सरकारको मन्त्री स्तरीय निर्णयले सरकारी चिकित्सकहरूले प्राइभेट प्राक्टिस वा निजी क्लिनिकमा काम गर्न नपाउने निर्णय गरेको थियो ।
सरकारी अस्पतालमा कार्यरत चिकित्सकहरूले आफू कार्यरत दरबन्दी भएको सरकारी अस्पतालमा भन्दा निजी क्लिनिक तथा निजी अस्पतालमा बढी समय दिन थालेको गुनासो बढेपछि २०७७ साउन ९ गते सरकारले यस्तो निर्णय लिएको थियो ।
स्वास्थ्य सेवा ऐन, २०५३ र स्वास्थ्य सेवा नियमावली २०५५ अनुसार सरकारी डाक्टरहरुले आफनो क्लिनिक, निजी अस्पताल वा अन्य चिकित्सा प्रयोजनको काम मन्त्रालयको स्विकृतिबिना गर्न पाउँदैनन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पनि सरकारी चिकित्सकहरुलाई बाहिर काम गर्ने अनुमति दिंदैन थियो । तर, अहिले भने अधिकांश सरकारी चिकित्सकहरुले निजी अस्पतालमा काम गर्दै आएका छन् ।
यता, स्वास्थ्य सचिव डा. रोशन पोखरेल भने सरकारी चिकित्सकले निजी अस्पताल वा क्लिनिकमा काम गर्न पाउनुपर्ने बताउँछन् । राज्यले चिकित्सकलाई दिएको सेवा–सुविधा अपुग भएको बताउँदै उनले अन्य सेवाका कर्मचारीहरुले बाहिर सहज रुपमा काम गर्न पाएजस्तै चिकित्सकहरुले पनि पाउनुपर्ने उनको भनाई छ ।
एक अनलाइनसँग अन्तर्वार्ता दिंदै उनले भनेका छन्–‘राज्यले चिकित्सकलाई दिएको सेवा–सुविधाले पुगेको छैन । यही सुविधाबाट एक चिकित्सकलाई जीवन निर्वाह गर्न गाह्रो छ । त्यही भएर नै चिकित्सकले बाहिर ‘प्राक्टिस’ गर्नुपर्ने बाध्यता छ । अन्य सेवामा बाहिर काम सहज रूपमा गर्न पाउँछन् ।
प्रतिष्ठान धेरै बनेका छन् । त्यसलाई केन्द्रित गरेर छाता ऐनमा ल्याउनुपर्ने देखिन्छ । केन्द्रीय अस्पतालको विकास समितिमा एकपटक बसेपछि सधैं बसिरहने देखिएको छ । विकास समितिको छाता ऐनको खाँचो छ । उपकरणको गुणस्तर हेर्ने कुरामा हामीले काम गर्न बाँकी छ ।
एक शिक्षकले बिहान, बेलुका ट्युसन पठाउन पाउँछ । कर्मचारीले लोकसेवाको कक्षा लिन पाउँछ । तर चिकित्सकले आफ्नो समयभन्दा बाहिर क्लिनिकमा गएर काम गर्दा लुट्यो भन्ने कुरा गलत हो । तोकिएको समयभन्दा बाहिर गएर सेवा दिन्छन् भने राज्यले स्वीकार गर्नुपर्छ । त्यो सेवा राज्यलाई चाहिन्छ भने त्यही आधारको सेवा–सुविधा दिन सक्नुपर्छ ।’
सरकारी चिकित्सकले सरकारी अस्पतालमा भन्दा निजी अस्पताल वा क्लिनिकमा धेरै समय दिने तर सरकारी अस्पतालमा बिरामीले राम्रो सेवा नपाउने गुनासो धेरै छ नि १ किन स्वास्थ्य मन्त्रालयले अनुगमन गर्न सकेको छैन ? भन्ने प्रश्नमा उनी भन्छन्–‘यो कुरा चाहिं भन्ने बाटो मात्रै हो । कुनै पनि सरकारी कर्मचारीले अफिस समयमा काम नगरेर बाहिर काम गर्नुहुन्छ भन्ने उहाँहरूको आफ्नै मूर्खता हो । अफिस समयमा पनि बाहिर काम गर्छन् भन्ने कुरा म पत्याउन तयार छैन ।
यो कुरा धेरै कम भइसकेको छ । केही साथीभाइले इमान नै बेचेर काम गर्नुहुन्छ भने के भन्नु र १ पढे–लेखेको चिकित्सकलाई समयमै काम गर है भनेर बारम्बार भन्नु पनि लज्जास्पद विषय हो ।’
सचिव डा. पोखरेलले स्वास्थ्य सेवाप्रति राज्यको बुझाइ नमिलेको पनि बताए । राज्यले करोड खर्चेर तयार गरेका चिकित्सक विदेशिने क्रम बढ्दो छ, यसले नेपालमा स्वास्थ्य जनशक्ति अभाव हुने खतरा बढ्दो छ । यो समस्या समाधान गर्न स्वास्थ्यको नेतृत्व संवेदनशील भएको देखिंदैन नि ? भन्ने प्रश्नमा डा. पोखरेलले भनेका छन्–‘यो संवेदनशील विषय हो । स्वास्थ्य सेवालाई अन्य निजामती सेवामा राख्दा कहिल्यै पनि समस्याको हल हुँदैन । निजामती सेवामा स्वास्थ्य सेवा राख्ने हो भने पनि स्वास्थ्य सेवालाई छुट्टै हिसाबले राखेर काम गर्नुपर्ने हुन्छ । न्यायालय र परराष्ट्र सेवालाई केही न केही सहुलियत दिन सकिने, तर स्वास्थ्य सेवा दिन नसक्नुले राज्यको बुझाइ नमिलेको जस्तो लाग्छ ।
त्यसकारण स्वास्थ्य सेवा छुट्याएर कार्यरत जनशक्तिलाई केही सेवा सुविधा दिन सक्दा मात्रै चिकित्सक विदेशिने क्रम रोक्न सकिएला । स्वास्थ्य सेवाका कर्मचारीले फोन २४सै घन्टा अन गर्नुपर्ने हुन्छ । तर, अन्य कर्मचारीले आफ्नो ड्युटी बाहेक फोन अफ गर्दा पनि कसैले गाली नगर्ने हुन्छ ।
यदि स्वास्थ्यका जनशक्तिले ६–७ घन्टा मात्रै काम गर्ने हो भने अन्य कर्मचारी सरहको तलब सुविधा ठिकै होला । तर स्वास्थ्यका जनशक्तिले दिनरात नभनी काम गर्नुपर्ने हुँदा काम गर्न र काम लगाउन गाह्रो हुन्छ । विदेशमा सेवा–सुविधा बढी पाउने भएकाले स्वास्थ्यकर्मी बाहिर जाने क्रम बढेको छ ।'
साढे तीन वर्ष स्वास्थ्य सचिव भएर काम गरेका डा।पोखरेल आगामी १२ फागुनमा सरकारी सेवाबाट अवकाश लिंदै छन् ।