काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'लाई दोहोरो मानसिकता त्याग्न आग्रह गरेका छन् ।
प्रतिपक्ष दलका नेतासमेत रहेका प्रचण्डले माघको २४ गते सम्बोधनको क्रममा वर्तमान सरकार संवैधानिक र प्राकृतिक नभएको बताएका थिए ।
तर आइतबार प्रतिनिधि सभाको बैठकमा बोल्दै शर्माले कांग्रेस र एमालेको सरकार कसरी अप्राकृतिक भयो भन्दै प्रश्न गरेका हुन् । उनले कांग्रेस र माओवादीको सरकार हुँदा प्राकृतिक हुने कांग्रेस र एमाले हुँदा कसरी अप्राकृतिक भयो भन्दै प्रश्न गरे ।
‘दोहोरो मापदण्डको मानसिकतालाई भत्काउन म आह्वान गर्छु । कांग्रेस र माओवादी मिलेर सरकार बनाउँदा कसरी प्राकृतिक थियो। अनि कांग्रेस र एमाले मिल्दा कसरी अप्राकृतिक भयो । यसको बारेमा उहाँको व्याख्या कुनै बेला सुनौंला।’
दुई वटा भिन्न दर्शनको सरकार बन्नु गणितिय बाध्यता र परिस्थितिको आवश्यकता भएको उनको दाबी छ ।