काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद सोबिता गौतमले संसदीय अभ्यासमाथि हस्तक्षेप भएको बताएकी छन् । सोमबार प्रतिनिधिसभाको शून्य समयमा समय लिएर बोल्दै सांसद गौतमले संसदीय समितिबाट आएका प्रतिवेदनमाथि सरकारले पुनः संशोधन राख्न पाउने नजिर स्थापित भएको भन्दै आपत्ति जनाएकी हुन् ।
उनले भनिन्–‘यो गलत नजिर स्थापनाका कारण संसदीय अभ्यासमा हस्तक्षेप भएको छ, जसले संसदीय इतिहासमा यो दिनलाई कालो दिनका रूपमा दर्ज गराएको छ । आम जनता यसलाई हेरिराखेका छन्, किनकि हाम्रा सबै कामहरू सार्वजनिक परीक्षण (पब्लिक अडिट) मा पर्छन् । विधिविपरीत कुनै काम नहोस्, र गलत नजिर स्थापना गर्ने कार्य यो सदनबाट नगरियोस् ।’
कानून समितिले पारित गरेको प्रतिवेदनमाथि सरकारले संशोधन प्रस्ताव हालेर जनताको आँखामा छारो हाल्ने काम भएको जिकिर गरिन् । ‘विधायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ मा सत्तापक्षकै सांसदले राखेको संशोधनप्रति उनले आपत्ति जनाएकी हुन् ।
कानूनमन्त्री अजयकुमार चौरसियाले आइतबार उक्त विधेयकको प्रतिवेदन प्रतिनिधिसभामा प्रस्तुत गरेका थिए । प्रतिवेदन कानून, न्याय तथा संसदीय समितिबाट पारित भइसकेको छ ।
प्रतिवेदन पारित भएपछि उक्त विधेयकमा कानून समिति सदस्य समेत रहेकी कांग्रेस सांसद सुशिला थिङले संशोधन प्रस्ताव राखेकी थिइन् । उक्त प्रस्तावमा जवाफ दिँदै कानूनमन्त्री चौरसियाले संशोधन प्रस्ताव स्वीकार गर्ने जवाफ दिएका थिए ।
उनले भनिन्–‘हिजो विधायन सम्बन्धमा व्यवस्था गरिएको विधेयक यो सदनबाट पारित गर्दै गर्दा, कानून समितिले विस्तृत रूपमा छलफल गरी कानूनमन्त्रीकै उपस्थितिमा छलफल गर्दै सर्वसम्मतिमा पारित गरेको प्रतिवेदनमाथि सरकारले संशोधन प्रस्ताव गर्यो । तर, सत्तापक्षका एक सांसदले प्रस्ताव गरेको संशोधन स्वीकृत गरिएको भन्दै जनताको आँखामा छारो हाल्ने काम गरियो ।’
‘यो घटनाले संसदीय इतिहासमा एउटा गलत नजिर स्थापित भएको उनले बताइन् । ‘यो संसदीय इतिहासमा एउटा अत्यन्त गलत नजिर स्थापित भएको छ । अब समितिबाट आएका हरेक प्रतिवेदनमाथि सरकारले फेरि संशोधन राख्न पाउने नजिर स्थापना भएको छ,’ गौतमले भनिन् ।
संसदीय अभ्यासमा नै हस्तक्षेप भएको भन्दै उनले हिजोको दिनलाई ‘कालो दिन’को रुपमा दर्ज भएको बताइन् । उनले भनिन–‘यो गलत नजिर स्थापनाका कारण संसदीय अभ्यासमा हस्तक्षेप भएको छ, जसले संसदीय इतिहासमा यो दिनलाई कालो दिनका रूपमा दर्ज गराएको छ । ’
आम जनताले यसलाई हेरिराखेको भन्दै सांसद गौतमले भनिन्–‘किनकि हाम्रा सबै कामहरू सार्वजनिक परीक्षण (पब्लिक अडिट) मा पर्छन् । विधिविपरीत कुनै काम नहोस्, र गलत नजिर स्थापना गर्ने कार्य यो सदनबाट नगरियोस् ।’