धनुषा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले कांग्रेस र एमालेको रोग आफ्नो पार्टीमा पनि देखिन थालेको बताएका छन् ।
जनतासँग माओवादी, तराई मधेस जागरण अभियानअन्तर्गत धनुषामा आयोजित जागरण तथा खबरदारी सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन्।
कहिले कांग्रेस र कहिले एमालेसँग सहकार्य गर्दागर्दा उनीहरूको रोग माओवादीभित्र पनि देखिन थालेकाले पार्टीभित्र विभिन्न तहका परामर्श बैठकबाट रोग पहिचान गरेर यसको उपचार गर्ने डाक्टर जनता मात्रै हुन भन्ने निष्कर्षसहित उपचार खोज्न जनताको बीचमा आएको बताए ।
अध्यक्ष प्रचण्डले भने,‘जनताको घरमा बस्ने, उनीहरूले जे खान्छन्, त्यही खाने, जस्तोमा बस्छन्, त्यही बस्ने गरेका छौं।’
माओवादीप्रति विश्वास गरेका लाखौं लाख जनताको विश्वास कायम राख्न नसक्नु कमजोरी भएको उल्लेख उहाँले सबैभन्दा पहिले आफ्ना कमीकमजोरी सच्याएर जनतातिर फर्कन केन्द्रीय समिति बैठकले दिएको निर्देशनअनुसार पार्टीको सन्देश बोकेर यो अभियान थालिएको बताए।
हुलाकी मार्ग वरिपरि सबैभन्दा धेरै उत्पीडित वर्ग र समुदायको बसोबास रहेकाले समुदायभित्रै छिरेर जनताको मनको कुरा नजिकबाट बुझ्ने कोशिस गरिरहेको उनले बताए ।
अध्यक्ष प्रचण्डले हुलाकी मार्ग केन्द्रित अभियानले दक्षिण नेपालको रुपरेखा फेर्न सहयोग गर्ने जिकिर गरे ।