काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कसैकसैलाई विरोध गर्ने बानी नै परिसकेको टिप्पणी गरेका छन् ।
ट्रेड युनियन आन्दोलनको ७८ औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले उक्त टिप्पणी गरेका हुन् ।
उनले अहिले आफ्नो केही मान्छेहरुले विरोधका लागि विरोध गरिरहेको बताए ।
प्रधानमन्त्री ओलीले माओवादीका सांसदले पशुपतिमा सुनको जलहरि चढाउँछु भनेर पित्तल चढाएको भन्दै आफूलाई आरोप लगाएको स्मरण गरे ।
प्रधानमन्त्री ओलीले भने, ‘यसअघिको सरकारको एउटा सांसदले सुन भनेर पित्तल चढायो भनेर कराए, तीनका मतियारहरुले ताली बजाए, तीनको नेताले समिति बनाएर जलहरि उक्काए, नापे, तौलिए तर लाज पनि मानेनन्, पशुपतिसँग क्षमा पनि मागेनन् । अहिले पनि भन्दैछन् जलहरि काण्ड। यस्ता मान्छे पनि छन् ।’
उनले कसैको विरोध गर्नेहरुसँग मतलब नभएको भन्दै आफू देश बनाउने काममा केन्द्रित रहेको बताए ।