कैलाली । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले रेशम चौधरीलाई आफूले जेलबाट छुटाएको बताएका छन् ।
कैलालीको टीकापुरमा माओवादी केन्द्र निकट थारु राष्ट्रिय मुक्ति मोर्चाको चौथो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले टीकापुर घटनामा तीनै तहका अदालतबाट दोषी प्रमाणित भएर जेल पुगेका रेशमलाई आफूले छुटाएको बताए ।
‘म यो पनि भन्न चाहन्छु अहिले नागरिक उन्मुक्ति पार्टी रेसम चौधरी हुनुहुन्छ। जे भए पनि थारुको बच्चा हो,’ प्रचण्डले भने, ‘टीकापुर घटना, टीकापुर आन्दोलनका बारेमा थुप्रै जालझेलहरू भएको मलाई थाहा छ। यो थारुको बच्चालाई छुटाउन पाइयो भने थारु जनतालाई अलिकति भए पनि शान्ति होला भनेर जोखिम उठाएर छुटाएको हो।’
आफू प्रधानमन्त्री भएकै बेला त्यो जोखिम उठाएको उनले बताए । उनले भने, ‘मैले प्रधानमन्त्रीको हैसियतले मन्त्रिपरिषद्बाट निर्णय गरेर, खोरमा उनलाई पटक–पटक भेटेर राष्ट्रपतिलाई भनेर छुटाएको हो ।' साथै उनले रेशमलाई माओवादीमा आउन आह्वान गरेका छन् ।