कास्की । सहकारी ठगी प्रकरणमा पक्राउ परेका म्याग्दीका जिल्ला समन्वय समिति प्रमुख राजकुमार थापालाई नेकपा एमाले गण्डकी प्रदेश कमिटीले निलम्बन गरेको छ । मंगलबार बसेको पार्टीको चौथो सचिवालय बैठकले यस्तो निर्णय गरेको हो ।
बैठकले म्याग्दी जिल्ला कमिटीका पूर्वउपसचिव, प्रदेश कमिटी सल्लाहकार परिषद् सदस्यसमेत रहेका थापालाई अदालतमा विचाराधीन मुद्दाको किनारा नलागेसम्मका लागि जिम्मेबारीबाट निलम्बन गर्ने निर्णय गरेको बताइएको छ ।
निलम्बनमा परेका थापा म्याग्दीको बेनीमा रहेको कुमारी बहुउद्देश्यीय सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा मुछिएका छन्। थापासहित २५ जनाविरुद्ध म्याग्दी जिल्ला अदालतमा एक अर्ब १३ करोड रुपैयाँ बिगो माग गर्दै मुद्दा दर्ता भएको छ ।
एमाले म्याग्दीका पूर्वजिल्ला उपसचिवसमेत रहेका थापा ०७९ सालमा सम्पन्न स्थानीय तहको निर्वाचनमा जिल्ला समन्वय समितिको प्रमुखमा निर्वाचित भएका थिए।