काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाए सडक र सदन चर्काउने चेतावनी दिएका छन्।
प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद शाहीले उक्त चेतावनी दिएका हुन्। उनले अँध्यारो नेपालबाट उज्यालो नेपाल बनाउने प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउने र शून्य अङ्क दिएर षड्यन्त्र गरिएको बताए।
प्रमुख सचेतक शाहीले भने, ‘कुलमानलाई हटाउने जुन प्रपञ्च गरिँदैछ र मन्त्रिपरिषद्ले निर्णय हुँदैछ भन्ने सुन्नमा आएको छ । यदि कुलमानलाई हटाइयो भने,नेपाललाई अन्धकारमा धकेलेको भनेर सडक र सदन दुवैबाट आवाज उठ्छ ।’
उनले कार्यकारी निर्देशक घिसिङले कार्यसम्पादन मूल्यांकनमा शून्य अंक पाएकोबारे सरकारसँग जवाफ माग गरे । सार्वजनिक संस्थानहरू घाटामा गइरहेको बेला प्राधिकरणलाई घिसिङले नाफामा लगिरहेको उनले बताए ।