काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सोबिता गौतमले जनताका प्रश्न दबाउन नखोज्न सरकारलाई चेतावनी दिएकी छन् ।
प्रधानमन्त्रीलाई प्रश्न सोधेकै कारण दुई पत्रकारको प्रेस पास निलम्बन गरिएपछि सामाजिक सञ्जालमार्फत उनले यस्तो चेतावनी दिएकी हुन् । उनीहरुको निलम्बन फुकुवाका लागि उनले माग गरिन् ।
गौतमले भनिन्, 'एक समय थियो, जब नेताहरू आफैं माइक खोज्थे। युट्युब च्यानलहरू मनोरञ्जनमै सीमित थिए। तर समय बद्लियो, अब युवाहरू राजनीतिमा चासो राख्न थाले, युट्युब मिडिया संसदसम्म आइपुगे। जनता आफैं प्रश्न गर्दैछन्, सत्तालाई बोल्न बाध्य पार्दैछन्।'
तर अहिलेको अवस्थामा सांसदहरूले संसदभित्र प्रश्न गर्न संघर्ष गर्नुपर्ने अवस्था आएको भन्दै उनले सरकारप्रति आक्रोश व्यक्त गरिन्।
'बाहिर पत्रकारहरू प्रश्न सोधेकै कारण निलम्बनमा पर्छन्। संसद जनताको आवाज उठ्ने थलो हो, सत्ता चलाउनेको अहंकारको महल होइन !,' उनले भनिन् ।
उनका अनुसार, देशको अवस्था जस्तो छ, त्यहीअनुसार प्रश्नहरू उठ्छन्। उनले भनिन्, 'प्रश्नहरू तीतो लाग्न सक्छ, तर यदि देशको अवस्था मिठो हुन्थ्यो भने प्रश्नहरू पनि मिठा आउँथे। देशको गति जता, प्रश्नहरू त्यतै जान्छन् ।'
गौतमले सरकारलाई प्रश्न दवाउने प्रवृत्ति त्याग्न र सबैलाई समेटेर काम गर्न आग्रह गरिन्। 'प्रश्नलाई दबाउनु सट्टा सबैलाई समेट्ने गरी काम गर्नुस, खुशीले जोडेर लैजानुस । संख्याको शक्ति त कुनै बेला भत्किन सक्छ,' उनले भनिन् ।