काठमाडौं । श्रम संस्कृति पार्टीका प्रमुख सचेतक आर्यन राईले अखिल नेपाल फुटबल संघ (एन्फां लाई निलम्बन गर्ने विश्व फुटबल महासंघ (फिफा) को निर्णय फिर्ता गराउनका लागि तत्काल आवश्यक कदम चाल्न सरकारसँग माग गरेका छन् ।
आजको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले नेपाली राष्ट्रिय टोली तथा क्लवका खेलाडीहरूको भविष्य जोगाउन भएपनि सरकारले फिफाले तोकेका सबै सर्त पूरा गर्नुपर्ने बताए ।
फिफाले एन्फामाथि लगाएको निलम्बन फुकुवा यथाशीघ्र गराउन सरकारले कूटनीतिक, कानूनी र प्रशासनिक पहल तत्काल अगाडि बढाउनुपर्ने उनको भनाई थियो ।
सांसद राईले खेल क्षेत्रमा हस्तक्षेप नहुने गरी आवश्यक व्यवस्था मिलाउन पनि सरकारको ध्यानाकर्षण गराए । युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद् र एन्फाबीच तत्काल उच्चस्तरीय वार्ता गरी फिफाले एन्फामाथि गरेको निलम्बन फुकुवा गर्न अग्रसर हुनुपर्ने सांसद राईको भनाइ थियो ।
उनले भने–‘युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद् र एन्फाबीच तत्काल उच्चस्तरीय वार्ता गरी फिफाले तेस्रो पक्षको हस्तक्षेप सम्बन्धि विषय यथाशीघ्र समाधान गरियोस् । फिफाको विधान र अन्तर्राष्ट्रिय खेलकुद कानुन अनुसार एन्फालाई विधान संशोधन, निर्वाचन प्रक्रिया तथा अन्तरिक व्यवस्थापन स्वतन्त्र रूपमा सञ्चालन गर्नसक्ने वातावरण सुनिश्चित गरियोस् ।’
खेलकुद ऐन र फिफाको नियमबीच रहेका कानूनी अस्पष्टता तत्काल हटाउन माग गर्दै उनले भने–‘खेलकुद क्षेत्रमा आवश्यक सरकारी नियम राख्दै अन्तर्राष्ट्रिय क्षेत्रमा समेत समस्या निम्त्याउने राजनीतिक, प्रशासनिक हस्तक्षेप पूर्ण रूपमा अन्त्य गरियोस् । राष्ट्रिय टोली क्लवका खेलाडीहरूको भविष्य जोगाउन तथा फिफाले तोकेका सबै सर्त पूरा गरी एन्फामाथिको फुकुवा यथाशीघ्र गराउन सरकारबाट आवश्यक कूटनीतिक, कानूनी र प्रशासन पहल तत्काल अगाडि बढाइयोस् ।’