काठमाडौं । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले तोकिएको समयमा कार्यसम्पादन प्रतिवेदन पेश नगरेपछि नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई शून्य नम्बर दिइएको बताएका छन्।
प्रतिनिधिसभा बैठकमा समय लिएर ऊर्जामन्त्री खड्काले सो कुरा बताएका हुन्। कुलमान सरकारप्रति उत्तरदायी नबनेको उनले बताए।
ऊर्जामन्त्री खड्काले प्राधिकरणको कार्यकारी नियुक्त गर्दा नै कार्यसम्पादन मूल्यांकनका आधारमा पुरस्कृत गर्ने कि निष्काशन गर्ने भन्ने सर्त राखिएको बताए ।
कुलमानले समयभित्र कार्यसम्पादन मूल्याङ्कनका लागि समयभित्र अनुरोध नै नगरेको र मन्त्रालयले पत्राचार गरेपछि आफूले आफैँलाई नम्बर दिएर पठाएको बताए ।
ऊर्जामन्त्री खड्काले नेपाल विद्युत् प्राधिकरणले हुँदै नभएको नाफा देखाएको आरोप समेत लगाएका छन् ।
उनले ट्रंक र डेडिकेटेड लाइनको उठ्न बाँकी भनिएको महसुललाई समेत नाफामा बाँधेर नाफा देखाइएको र यसैका आधारमा प्रिमियममा मूल्यमा जनतालाई शेयर जारी गर्न यो देखाइएको बताए ।
ऊर्जामन्त्री खड्काले प्राधिकरण सञ्चालक समितिले प्राधिकरणको सम्पत्ति तथा दायित्वको मूल्याङ्कन (डीडीए) गर्न निर्णय गरे पनि कुलमानले नटेरेको बताए ।
उनले प्राधिकरण अन्तर्गत कुलमानले नेतृत्व गरिरहेको २५ वटाभन्दा बढी संस्थाको विवरण समेत प्राप्त गर्न नसकिएको उनको भनाइ छ ।