Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

महिला पत्रकारमाथि दुर्व्यवहार गर्ने प्रहरी अधिकृतलाई कारबाहीको माग

महिला पत्रकारमाथि दुर्व्यवहार गर्ने प्रहरी अधिकृतलाई कारबाहीको माग

मंगलवार , फाल्गुण २७, २०८१

कैलाली । धनगढीमा पत्रकार आर्जु हमालमाथि समाचार संकलनका क्रममा नेपाल प्रहरीका अधिकृतहरूले गरेको दुर्व्यवहारप्रति नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिको गम्भीर ध्यानाकर्षण भएको छ ।

महासंघ सुदूरपश्चिमका महासचिव शिवराज भट्टले मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै दोषी प्रहरी अधिकृतमाथि छानबिन गरी कानूनी कारबाहीको माग गरेका हुन् ।

आइतबार धनगढी उपमहानगरपालिका वडा नम्बर ८ मा नवनिर्मित सिटीहलको उद्घाटन समारोहको समाचार संकलन गर्ने क्रममा दिनेश एफएम र दिनेश खबर डटकमकी समाचार संयोजक हमालमाथि जिल्ला प्रहरी कार्यालय कैलालीको मुद्धा शाखाका इञ्चार्ज तथा इन्स्पेक्टर दर्शन खड्कासहितका प्रहरीहरुले दुर्व्यवहार गरेको आरोप छ ।

सो सभा गृहको आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका थिए । सोही क्रममा समाचार संकलन गर्न पुगेकी पत्रकार हमालमाथि इन्स्पेक्टर खड्कासहितका प्रहरीले दुर्व्यवहार गरेको आरोप लागेको हो । पत्रकार हमालले प्रधानमन्त्री सहभागी भएका बेला फेसबुक लाइभ गरिरहेकी थिइन् ।

भिडियोमा देखिए अनुसार इन्स्पेक्टर खड्का सहितका प्रहरीले हमाललाई अलि टाढा जान आग्रह गरिरहेका छन् । तर उनी प्रधानमन्त्रीको नजिक जान खोजेपछि इन्स्पेक्टरले धकेलेको सार्वजनिक भिडियोमा देख्न सकिन्छ ।

प्रहरी र पत्रकार हमालबीच बोलाबोल भएको पनि सुन्न सकिन्छ । उनले आफूलाई प्रहरीले पक्राउ गर्ने तयारी पनि गरेको निवेदनमा उल्लेख गरेकी थिइन् ।

सोही विषयलाई लिएर पत्रकार हमालले छानविनका लागि राष्ट्रिय मानवअधिकार आयोग, सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, राष्ट्रिय महिला आयोग, नेपाल पत्रकार महासंघ र इन्सेक गुहारेकी थिइन् ।

यता पत्रकारले स्वतन्त्रपूर्वक समाचार संकलन गर्न पाउने हक विपरीत सुरक्षाकर्मीहरूको यस्तो व्यवहार निन्दनीय र दुःखद रहेको महासंघ सुदूरपश्चिम प्रदेश समितिको ठहर छ।

विज्ञप्तिमा भनिएको छ,'पत्रकारहरूको स्वतन्त्रतामाथि हुने कुनै पनि प्रकारको हस्तक्षेप लोकतान्त्रिक मूल्य र प्रेस स्वतन्त्रताको प्रतिकूल भएकाले दोषी प्रहरी अधिकृतमाथि छानबिन गरी कानूनी कारबाहीको माग गर्दछौं ।'

नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समिति पत्रकारहरूको पेशागत सुरक्षाको पक्षमा दृढ रहँदै पत्रकार आर्जु हमालमाथि भएको दुर्व्यवहारको घटनालाई गम्भीर रूपमा लिएको छ।

'महासंघले घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि आवश्यक कारबाही गर्न सरोकारवाला निकायलाई आग्रह गर्दछ,' विज्ञप्तिमा भनिएको छ ।

यता नेपाल पत्रकार महासंघ, कैलाली शाखाले पनि घटनाको सत्यतथ्य छानविन गरी दुर्व्यवहारमा संलग्न प्रहरीलाई कारबाही गर्न माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077