काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले घृणा फैलाउने काम नगर्न आग्रह गरेका छन्।
प्रतिनिधि सभाको बैठकमा बोल्दै कांग्रेसका महामन्त्रीसमेत रहेका थापाले सो कुरा बताएका हुन् । उनले कुनै पनि व्यक्तिका बारेमा घृणा फैलाउने काम गर्न नहुनेमा जोड दिए।
महामन्त्री थापाले भने,‘केही कुरामा हाम्रा बीचमा समझदारी हुनैपर्छ। यो संविधान जोगाउने कुरामा, संवैधानिक संस्था जोगाउने कुरामा, यसलाई ठिक ढंगले लैजाने कुरामा हामी सबैका बीचमा समझदारी हुनैपर्छ । प्रश्न गरौं, आलोचना गरौं तर घृणा फैलाउने काम नगरौं। कुनै व्यक्तिका बारेमा यसरी पनि घृणा नफैलाऔं कि त्यो घृणाले हामी सबैलाई लिएर जान्छ। त्यसैले संसदभित्र र बाहिर प्रतिस्पर्धा सभ्य र सुसूचित बहस गरौं।’
सरकारले कुनै पनि अहंकार नराखीकन प्रतिपक्षले उठाएका कुरालाई सम्बोधन गर्दै जाने अभ्यास गर्नुपर्ने थापाले बताए।
महामन्त्री थापाले नागरिकहरूका असन्तुष्टिहरू सुन्नुपर्ने पनि बताए। सरकारले कुनै पनि अहंकार नराखी नागरिकहरूका असन्तुष्टिलाई समयमै बुझेर समाधान खोज्नुपर्ने बताए।