काठमाडौं । रास्वपाका संस्थापक महासचिव डा. मुकुल ढकालले पार्टी खोल्नुअघि सभापति रवि लामिछाने ‘राजतन्त्रलाई समातेर जाने लाइनमा’ रहेको आरोप लगाएका छन् ।
मंगलबार सामाजिक सञ्जालमार्फत रास्वपाबाट निकालिएका ढकालले पार्टी स्थापनाको प्रारम्भिक चरणमा पार्टीको राजनीतिक मार्गनिर्देशनका विषयमा गहन छलफल भएको बताउँदै सभापति लामिछानेमाथि यस्तो आरोप लगाएका हुन् ।
उनले राजतन्त्रका विषयमा रविले पूर्वराजा ज्ञानेन्द्र शाहसँग कुराकानीसमेत गरेको खुलासा गरे । तर आफूले राखेको प्रस्तावअनुसार पूर्वराजाबाट सकारात्मक कुरा नआएपछि गणतन्त्रकै लाइनमा पार्टी खोल्ने निर्णय गरिएको उनले बताए ।
ढकालका अनुसार, रास्वपा गठन हुनु पूर्व लामिछानेले राजतन्त्रको विकल्पलाई लिएर गम्भीर छलफल गरेका थिए। 'त्यतिबेला छलफल गर्नका लागि कोही थिएन, जे जति हुन्थ्यो, हामी दुइबीच नै हुन्थ्यो,' ढकालले उल्लेख गरे।
रवि लामिछाने झापासम्म पुगेर पूर्वराजासँग तथा उनका नजिकका व्यक्तिहरूसँग छलफलमा संलग्न भएका थिए। 'रवि दाइ राजतन्त्रलाई समातेर जाने लाइनमा हुनुहुन्थ्यो,' ढकालले भने।
तर, ढकालको तर्क थियो कि यदि राजतन्त्रलाई पुनर्स्थापित गर्ने सोच थियो भने, त्यसका लागि स्वयं पूर्वराजा ज्ञानेन्द्र शाहले खुला रूपमा आफ्नो धारणा व्यक्त गर्नुपर्थ्यो। 'राजा ल्याउने वा आउने कुरा हामीले गरेर हुन्न, राजा आफैँले बोल्नुपर्छ,' ढकालले भने।
ढकालले अघि सारेको प्रस्ताव अनुसार, यदि राजतन्त्र पुनर्स्थापनाको प्रयास गरिन्थ्यो भने, राजाको निजी सम्पत्ति रहनु नहुने, जनताले राजालाई पाल्ने, र राजाको सम्पत्तिलाई ट्रस्टमा राखेर प्रत्येक प्रदेश राजधानीमा कम्तिमा एउटा ठुलो विद्यालय र अस्पताल खोल्नुपर्ने धारणा थियो।
तर, पूर्वराजा शाहबाट कुनै सकारात्मक प्रतिक्रिया नआएपछि, अन्ततः गणतन्त्रकै मार्ग अवलम्बन गर्दै रास्वपा गठन गर्ने निर्णय गरिएको ढकालले जानकारी दिए।उल्लेख गरेका छन् ।