काठमाडौं । प्रतिनिधिसभाले ‘सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव बहुमतले स्वीकृत भएको छ ।
त्यसअघि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सभासमक्ष सो प्रस्ताव पेस गरेका थिए ।
विधेयकमाथिको सैद्धान्तिक छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री अधिकारीले एक संस्थामा दुई कार्यकालभन्दा उही व्यक्ति बस्न नपाउने व्यवस्था विधेयकमा राखिएको बताए ।
सरकारले अध्यादेशमार्फत अगाडि सारेका सबै विधेयक जनताको समस्या समाधान गर्ने उद्देश्यले ल्याएको उनको भनाइ छ ।
प्रतिनिधिसभाको अर्को बैठक आगामी चैत ३ गते आइतबार बिहान ११ बजे बस्ने भएको छ ।