काठमाडौं । गृहमन्त्री रमेश लेखकले पाथीभरा केबलकारको प्रक्रिया अगाडि बढाउन संलग्न राजनीतिक दलले नै विरोध गरेको बताएका छन्।
प्रतिनिधि सभाको बैठकमा सांसदहरूले समसामयिक विषयमा उठाएका प्रश्नका जबाफ दिँदै गृहमन्त्री लेखकले सो कुरा बताएका हुन् ।
उनले राजनीतिक दलहरूले विरोधकै लागि विरोध गरिरहेको बताए।
गृहमन्त्री लेखकले भने,‘यस आयोजना निर्माण गर्ने प्रक्रिया अगाडि बढाउने सन्दर्भमा संलग्न महानुभावहरू एवं राजनीतिक दलले पनि आज आएर विरोध गरेको देखिएको छ। त्यसैले म सबैलाई विगतको आफ्नो संलग्नता र भूमिकालाई स्मरण गर्न आग्रह गर्दछु।’
पाथीभरामा केबलकार निर्माणको प्रक्रिया केही वर्ष अगाडि देखि नै सुरू भएको उनले बताए।
२०७५ पुस १६ मै सरकारले केबलकार निर्माणको लागि वन क्षेत्रको जग्गा प्रयोग गर्न दिने र सोमा रहेका रूख बिरूवाहरू हटाउन स्वीकृत दिएको उनले बताए।