काठमाडौं । प्रहरी महानिरीक्षक दिपक थापाले रिक्त पदमा तत्कालै बढुवा प्रक्रिया अघि बढाइने बताएपनि बढुवा लम्बिने देखिएको छ ।
बढुवाका लागि तिव्र प्रतिस्पर्धा हुँदा बढुवा समितिको बैठक तत्काल बस्ने सम्भावना देखिएको छैन । प्रहरीमा रिक्त एआईजीका ६ पदका लागि १८ डीआईजीबीच प्रतिस्पर्धा छ ।
सबै प्रतिस्पर्धी शक्तिशाली भएकाले सहमति जुट्न सकेको छैन । अर्कोतर्फ दुई ठुला दलको गठबन्धनबाटै यो विषय निर्णय हुनुपर्ने भएकाले बढुवामा केही दिन लाग्ने गृह मन्त्रालय स्रोत बताउँछ ।
हाल प्रदेश प्रमुख रहेका डिआइजीहरु कामै छाडेर एआईजी बढुवाका लागि शक्तिकेन्द्र धाइरहेका छन् । उनीहरु काठमाडौं आएर बसेकोमा प्रहरी महानिरीक्षक थापाको निर्देशनपछि उनीहरु कार्यक्षेत्र फर्किएका छन् ।
तर, उनीहरुको ध्यान प्रदेशको शान्ति सुरक्षा भन्दा नेताहरुकै चाकडीमै छ । रिक्त पदमा बढुवाका लागि डीआईजीहरू चन्द्रकुबेर खापुङ, लालमणि आचार्य, कृष्णहरी शर्मा, दानबहादुर कार्की, मनोज केसी, राजन अधिकारी, शिद्धिबिक्रम शाह, सुशीलसिंह राठौर, उमाप्रसाद चतुर्वेदी, डम्बर विक, हिमालय श्रेष्ठ, दिनेश आचार्य, ईश्वर कार्की, अरुण पौडेल, राजेन्द्रप्रसाद भट्ट र गोविन्द थपलिया छन् ।
उनीहरुमध्ये लालमणि, कृष्णहरी, दानबहादुर र राजन हाल प्रदेश प्रमुख छन् । यसपटकको बढुवामा चलखेल गर्नेहरुमा राष्ट्रिय अनुसन्धान विभागबाट प्रहरीमा आएका टोली अगाडी छन् ।
२०५४ सालमा भर्ना भएको दानबहादुर कार्कीको ब्याचभन्दा उनीहरु एक वर्षअघि भर्ना भएकाले उनीहरुलाई अघि बढाउने गृह मन्त्रालयको तयारी छ ।
समयमा एआईजी बढुवा नहुँदा तल्लो तहको बढुवादेखि प्रदेशको शान्ति सुरक्षा समेत खस्कदै गएको छ । बढुवाका प्रतिस्पर्धी रहेका चार डीआईजीहरु कार्यालयको काममा भन्दा आफ्नै बढुवामा लागेका छन् ।
अन्य तीन प्रदेशमा डीआईजी नै छैनन् । एआईजी र डीआईजी बढुवा नभएसम्म प्रदेशमा नयाँ डीआईजी जाने सम्भावना छैन । जसकारण बढुवा छिटो गर्नुपर्ने अवस्था छ ।