काठमाडौं । गोँगबुको नयाँ बसपार्कमा यात्रुलाई दुःख दिने ३७० जना कारबाहीमा परेका छन् ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले सुरक्षित बसपार्क बनाउन आइतबार नयाँ बसपार्कमा आयोजना गरेको कार्यक्रममा यो जानकारी दिएको छ। उक्त कार्यक्रममा यात्रुलाई अनावश्यक दुःख दिनेलाई कारबाही गरिएको उल्लेख छ।
महासङ्घका अध्यक्ष विजयबहादुर स्वाँरले देशको राष्ट्रिय बसपार्कलाई सुरक्षित र यात्रुमैत्री बनाउन नेपाल प्रहरी, यातायात व्यवसायी र मजदुर सबै जिम्मेवार रहेको बताए।
उनले भने, ‘सबैले आआफ्नो भूमिका निर्वाह गर्नुपर्छ।’ महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले नयाँ बसपार्कमा यात्रुको झोला जथाभावी तान्ने र अनावश्यक दुःख दिने काम रोक्नुपर्नेमा जोड दिए। उनले यस्ता गतिविधि नियन्त्रण गर्न सबै पक्ष सक्रिय हुनुपर्ने उनको भनाइ रहेको छ।
प्रहरी वृत्त महाराजगञ्जका प्रमुख, प्रहरी नायव उपरीक्षक निरन्जन थापाले राष्ट्रिय बसपार्कलाई सुरक्षित र मर्यादित बनाउन प्रहरीले निरन्तर काम गरिरहेको उल्लेख गरेका छन् ।