काठमाडौँ । चैत १५ गते गणतन्त्रको पक्ष र विपक्षमा काठमाडौँमा एकैदिन प्रदर्शन हुने भएको छ ।
समाजवादी मोर्चामा आबद्ध नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नेपाल समाजवादी पार्टी र विप्लव नेतृत्वको नेकपाले भृकुटीमण्डपमा प्रदर्शन गर्न लागेका छन् ।
सोही दिन मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ले पनि तीनकुनेमा प्रदर्शन गर्ने भएको हो । नवराज सुवेदी नेतृत्वको ‘राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ले पनि प्रदर्शन गर्ने घोषणा गरेको छ ।
गणतन्त्र पक्षधर समाजवादी मोर्चाले भृकुटीमण्डपमा प्रदर्शन र सभा गर्न स्थानीय प्रशासनसँग अनुमति लिएको छ । प्रसाईं नेतृत्वको समूहले चाहिँ काठमाडौँको तीनकुनेमा प्रदर्शन गर्नेबारे प्रशासनलाई जानकारी गराएका छन् ।