काठमाडौं । नयाँ शैक्षिकसत्र २०८२ शुरु हुन अब एक हप्ता मात्र बाँकी छ ।
तर, भर्ना अभियानको मुख्य सरोकार राख्ने शिक्षकहरू भने सडक आन्दोलनमा छन् ।
गुणस्तरीय विद्यालय शिक्षा, विद्यार्थी र शिक्षक–कर्मचारीमैत्री विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने माग राख्दै महासंघको नेतृत्वमा देशभरका शिक्षकहरु २०८१ माघ २० गतेदेखि निरन्तर आन्दोलनमा छन् ।
चैत्र २५ गतेबाट आम शैक्षिक हडतालको घोषणा गर्दै शिक्षकहरूले एसईईको उत्तरपुस्तिका परीक्षण नगर्ने, गोष्ठी तथा तालिममा सहभागी नहुने अडान लिएका छन् ।
यता, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय भने २०८२ वैशाखबाट सुरु हुने नयाँ शैक्षिकसत्रको भर्ना अभियानको योजना बनाउँदै छ ।
शिक्षकहरूको आन्दोलन जारी रहे नयाँ भर्ना अभियान समेत प्रभावित हुन्छ ।
‘शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले भने-'केन्द्रले भर्ना अभियानको योजना बनाएर फाइल मन्त्रालयमा पठाईसकेको छ । भर्ना अभियानको गृहकार्य भइरहेको छ । योजना बनाएर मन्त्रालयमा पठाएका छौँ ।’
भर्ना अभियान सुरु हुनुअघि शिक्षकसँग सहमति हुने विश्वास केन्द्रको छ । केन्द्रले भर्ना अभियान, निःशुल्क पाठ्यपुस्तक, प्रारम्भिक बालविकास, छात्रवृत्ति लगायतका योजना बनाएको छ ।
शैक्षिकसत्र अगाडि नै विद्यार्थीलाई हातहातमा पुस्तक पुर्याउने योजना सहित पुस्तक जिल्ला जिल्लामा पठाउने काम भइरहेको छ । तर, विद्यालयबाट विद्यार्थीलाई वितरण गर्न शिक्षक नै सडक आन्दोलनमा छन् ।
यदि वैशाखअघि सहमति नभए ७० लाख बढी बालबालिकाको पढाइ प्रभावित हुनेछ ।