Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

शिक्षकसँगै डाक्टर पनि आन्दोलनमा

शिक्षकसँगै डाक्टर पनि आन्दोलनमा

आइतवार , चैत्र २३, २०८१

काठमाडौं । गुणस्तरीय विद्यालय शिक्षा, विद्यार्थी र शिक्षक–कर्मचारीमैत्री विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने माग राख्दै महासंघको नेतृत्वमा देशभरका शिक्षकहरु २०८१ माघ २० गतेदेखि निरन्तर आन्दोलनमा छन् ।

शिक्षकहरुले काठमाडौंको माइतीघर–बानेश्वर सडकमा आन्दोलन गरिरहेका बेला डाक्टहरु पनि आन्दोलनमा होमिएका छन् । आफूहरूमाथि श्रम शोषण भएको भन्दै डाक्टरहरू प्रदर्शनमा उत्रिएका हुन् ।

माइतीघरमा धर्नामा उत्रिएका डाक्टरहरूले चिकित्सा शिक्षा आयोगको बैठकले गरेका निर्णय कार्यान्वयन नभएको, स्वास्थ्य शिक्षामाथि व्यापारीकरण नरोकिएको, राजनीतिककरण उत्तिकै रहेकोलगायत विभिन्न मागसहित दबाब दिएका छन् ।

उनीहरूले ‘स्वास्थ्य शिक्षा माथिको चरम व्यापारीकरण नियन्त्रण गर’, ‘पीजी सिटको कालोबजारी बन्द गर’, स्वास्थ्य शिक्षामाथि राजनीति बन्द गर, आवासीय चिकित्सकमाथिको श्रम शोषण बन्द गर, लगायतका प्लेकार्ड बोकेर प्रदर्शन गरिरहेका छन् ।

गत माघ २५ गते प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीका अध्यक्षतामा बसेको चिकित्सा शिक्षा आयोगको १६ औँ बैठकले निजी मेडिकल कलेजमा अध्ययनरत आवासीय चिकित्सकलाई सरकारी सरह (आठौँ तह) को निर्वाह भत्ता उपलब्ध गराउने निर्णय गरेको थियो ।

उक्त बैठकले आवासीय चिकित्सकको समान सुविधा (मासिक ४८ हजार सात सय) कायम गर्नुपर्ने निर्णय गरेको हो ।

तर, आफूहरूले १९ हजार ५०० मात्र पाएको भन्दै नेपाल मेडिकल कलेज जोरपाटीका डाक्टर आन्दोलित भएका हुन् । एक चिकित्सकले भने–सरकारले मन्त्रिपरिषद्‌बाट पारित भएको न्यूनतम तलब ४८ हजार पाउनु पर्ने हो। तर हामीले १९ हजार ५०० मात्र पाइहरेका छौं। यो हामीमाथिको चरम श्रम शोषण हो। त्यसकारण हामी आन्दोलन उत्रिन बाध्य छौं।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077