कैलाली । कैलालीमा लागु औषधसहित १२ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय, कैलालीको समन्वयमा विभिन्न स्थानहरूमा गरिएको अपरेशन अन्तर्गत खैरो हेरोईन र प्रतिबन्धित औषधीसहित १२ जनालाई पक्राउ गरिएको हो ।
गोप्य सूचनाको आधारमा मिति २०८१ साल चैत्र २६ गते, घोडाघोडी नगरपालिका–०१, सुखडस्थित गौरभ आचार्यको घरमा लागु औषध सेवन भइरहेको भन्ने जानकारीपछि ईलाका प्रहरी कार्यालय सुखडबाट खटिएको टोलीले गौरभ आचार्य, सुरेन्द्र श्रेष्ठ र भिम बोहराको साथबाट ३ ग्राम ५८० मिलिग्राम खैरो हेरोईन बरामद गरेको छ।
त्यसै दिन, टिकापुर नगरपालिका–०९ खक्रौला चेकपोस्ट नजिक खटिएको प्रहरी टोलीले एकतानगर शिविर बस्ने सन्तोष बिक र बन्दना बिकको साथबाट १ ग्राम ४२० मिलिग्राम खैरो हेरोईन फेला पारी पक्राउ गरेको कैलाली प्रहरीले जनाएको छ ।
यता, धनगढी उपमहानगरपालिका अन्तर्गत बङ्ग्राकटान र त्रिनगर भन्सार नजिक खटिएको अपराध अनुसन्धान समूहले विवेक राना, आकाश राना, भिम सुनार, दिनेश बोहरा र विशाल बोहराको साथबाट थप ६६० मिलिग्राम खैरो हेरोईन बरामद गरी उनीहरूलाई नियन्त्रणमा लिएको छ ।
यस्तै, ललिपुरघाट क्षेत्रबाट ईलाका प्रहरी कार्यालय बहुलिया र लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय, धनगढीको संयुक्त टोलीले रोहित बोगटी र लोकेन्द्र खड्काको साथबाट ७२ ट्याब्लेट प्रतिबन्धित औषधी फेला पारेको छ ।
कैलाली प्रहरीका अनुसार हालसम्म जम्मा ५ ग्राम ६६० मिलिग्राम खैरो हेरोईन र ७२ ट्याब्लेट प्रतिबन्धित औषधी बरामद गरिएको छ भने १२ जना पक्राउ परेका छन् । उनीहरूलाई आवश्यक कारवाहीको लागि हिरासतमा राखी प्रहरीले थप अनुसन्धान कार्य अगाडि बढाएको छ ।