काठमाडौं । नेपाल प्रहरीले तीनकुने हिंसात्मक प्रदर्शनका मुख्य नाइके दुर्गा प्रसाई पक्राउ नपरेको बताएको छ ।
बिहीबार साँझ प्रहरी महानिरीक्षकको कार्यालयले विज्ञप्ति जारी गर्दै नेपाल प्रहरीको विभिन्न स्रोत उल्लेख गरी 'दुर्गा प्रसाईं पक्राउ' भनी विभिन्न सञ्चारमाध्यममा आएको समाचारबारे भ्रममा नपर्न अनुरोध गरेको हो ।
'नेपाल प्रहरीको विभिन्न स्रोत उल्लेख गरी दुर्गा प्रसाईं पक्राउ भन्ने शीर्षकमा विभिन्न समाचारहरू प्रकाशन भएको भन्दै गम्भीर ध्यानाकर्षण भएको छ । विभिन्न आपराधिक घटनामा संलग्न रही फरार प्रसाईं प्रहरीको खोजी सूचीमा छ,' प्रहरीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
प्रहरीले हालसम्म प्रसाईं पक्राउ नपरेको हुँदा भ्रामक समाचार प्रकाशन, प्रसारण नगर्न समेत अनुरोध गरेको छ । तीनकुने घटनामा प्रहरीलाई नै गाडीले पेलेर अघि बढेका प्रसाईं केहीबेरपछि सम्पर्कविहीन भएका थिए ।