काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बेथिती बढेको छ । एकातर्फ नियम मिचेर कर्मचारी राखिएको छ भने अर्कोतर्फ भिजिट भिसामा हुने सेटिङ पनि मौलाएको छ । कतिसम्म भने केही कर्मचारीलाई नियम मिचेर डेढ वर्षसम्म राखियो ।
उपसचिव सिता परियारले विमानस्थलमा डेढ वर्ष बसेकोमा केही दिनअघि अकुत आर्जन गरेर बिदा भएकी छिन् । अध्यागमनमा एक वर्षभन्दा लामो समय कर्मचारी नराख्ने नीति छ ।
तर, उपसचिव परियार कांग्रेस नेता जीवन परियारको श्रीमती भएकाले उनलाई गृह मन्त्रालयले सरुवा गर्न सकेको थिएन । अति नै भएको भनेर गुनासो बढेपछि उनलाई हटाइएको स्रोत बताउँछ ।
उनीसहित सेटिङको कोर समूहमा रहेका तारा पेनरु, सत्यराज जोशी, बाबुलाल रेग्मी, माधव ढुंगाना, फणीन्द्र दाहाल लगायतलाई पनि हटाइएको छ ।
दाहाल दोहोर्याएर विमानस्थल बस्ने कर्मचारी हुन् । त्यस्तै यज्ञराज अर्याल, कमल पन्थी, उदयराज भट्टराई, मुरारी निरौला, गम्भीरसिंह बिष्ट लगायत नियम मिचेर अध्यागमनमा कार्यरत छन् । उनीहरु सबै पैसा बुझाएर अध्यागमनमा गएको चर्चा गृहमा छ ।
भिजिट भिसामा मन्त्रीको सचिवालयले पाउने रेट समेत पछिल्लो समय बढाइएको एक कर्मचारी बताउँछन् । जसकारण अध्यागमनमा हुने हरेक सरुवामा लेनदेन पनि बढेको छ ।
‘एक दिनमै तीन सय जनासम्म भिजिट भिसामा जाने गरेका छन्,’ एक कर्मचारी भन्छन्,‘एक व्यक्तिसँग ५० हजार रुपैयाँसम्म असुली हुन्छ ।’ जसअनुसार दिनमै करोड भन्दा धेरै घुस लेनदेन हुने गरेको छ । त्यस्तो घुस उच्च तहसमम पुग्ने गरेको छ ।
भिजिट भिसामा मानव तस्करी बढेपछि प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोको टोली खटाउने निर्णय भएपनि गृह मन्त्रालयको निर्देशनमा एक दिनमै हटाइएको थियो ।
विमानस्थल अध्यागमनका प्रमुख सहसचिव तिर्थराज भट्टराई गएसँगै सेटिङ बढेको हो । भट्टराई यसअघि विभिन्न काण्डमा परेका कर्मचारी हुन् ।
यसअघिका प्रमुख सुरेश पन्थीले सेटिङ मिलाउन नसकेको भन्दै उनलाई तीन महिनामै हटाएर भट्टराईलाई अध्यागमनमा पठाइएको थियो ।