अछाम । नेकपा एमाले अछामको लामो प्रतीक्षा गरिएको ९ औं जिल्ला अधिवेशन अन्ततः वैशाख १३ देखि १५ गतेसम्म सदरमुकाम मंगलसेनमा हुँदैछ ।
सुदूरपश्चिम प्रदेशका अन्य आठ जिल्लामा अधिवेशन सकिएपनि अछाममा केन्द्रमा देखिएको विवादका कारण अधिवेशन समयमै हुन सकेको थिएन ।
तर पार्टीका पूर्व उपाध्यक्ष डा. भीम रावलमाथिको कारबाहीपछि अछामको अधिवेशनको मार्ग खुलेको हो । सोही अनुसार भोलि (शनिबार) बाट अधिवेशन हुँदैछ । जसको उद्घाटन एमाले सुदूरपश्चिम इञ्चार्ज तथा केन्द्रीय सचिव लेखराज भट्टले गर्ने छन् ।
उनी शुक्रबार अछाम पुग्दैछन् । तर अधिवेशन सुरु नहुँदै नयाँ नेतृत्व चयनको बहस तीव्र बन्दै गएको छ । विशेषतः जिल्ला अध्यक्ष पदका लागि प्रतिस्पर्धा चर्किएको छ ।
हालसम्म सात नेताहरूको नाम अध्यक्ष पदका आकांक्षीको रूपमा सार्वजनिक चर्चामा आएको छ भने आकांक्षी संख्या अझै बढ्न सक्ने देखिएको छ ।
नेतृत्वका लागि चर्चामा आएको एउटा नाम हो भीम रावल (कालोटोपी) । पार्टीका वर्तमान जिल्ला सचिवसमेत रहेका रावल अध्यक्ष पदका लागि प्रमुख दाबेदारको रूपमा उभिएका छन् ।
युवामाझ लोकप्रियता बढाउँदै आएका रावल सबै पक्षलाई समेटेर अघि बढ्न सक्ने नेतृत्व क्षमता भएका नेता मानिन्छन् । उनले नेतृत्व हस्तान्तरणमार्फत पार्टीलाई नयाँ ऊर्जा दिने समय आएको बताउँदै आएका छन् ।
“पार्टीमा युवा पुस्ताको नेतृत्व स्थापित गर्न, आन्तरिक एकतालाई अझ मजबुत बनाउने र रोजगारी तथा उद्यमशिलताको अवसर सिर्जना गर्न आवश्यक छ,” उनले भने ।
उनले अछाममा एमालेलाई एकतावद्ध बनाएर अगाडि लिन आफू अध्यक्षका लागि होमिएको बताए । उनले भने, “पार्टी संक्रमणकालीन अवस्थामा छ । सबैलाई मिलाए लिने जिम्मेवारी छ । विषम परिस्थितमा नेता कार्यकर्तालाई एकढिक्का बनाएर लैजान्छु । पार्टीको निती अनुसार अगाडी बढ्छु ।”
अछाममा पछिल्लो समय एमालेका लागि अग्नी परीक्षाका रुपमा हेरिएको छ । पार्टीका पूर्वउपाध्यक्ष डा. भीम रावललाई कारबाही गरिएपछि अछाममा एमालेलाई समस्या हुने देख्निछ ।
रावलले जिल्लामा आफ्ना गतिविधिलाई सक्रिय बनाएका छन् । जसकारण एमालेलाई यसपटकको चुनावमा पनि धक्का लाग्ने आकल गरिन्छ । तर रावलले आफू नेतृत्वमा आएपछि सबै पक्षलाई समेटेर पार्टीलाई सुदृढ बनाउने स्पष्ट पारे ।
उनले पार्टीभित्र रहेका गुटहरुलाई पनि निस्तेज पार्ने बताए । साथै उनले जिल्ला, प्रदेश र केन्द्रका नेताहरुसँग आफ्नो राम्रो सम्बन्ध रहेको बताए । सर्वसहमतिमा नेतृत्व चयन भए पनि आफ्नै नाममा सबैले सहमति गर्ने उनको विश्वास छ ।
“हिजोबाट सर्वसहमतिको बोटो खोजिदैँ छ । पार्टीले पनि सर्वसहमतिमा नेतृत्व चयन गर्न भनेको छ । यदि सर्वसहमति भएपनि मेरै नाममा नेतृत्व चयन हुन्छ होला,” उनले भने ।
साथै विभिन्न वडाबाट छनोट भएका प्रतिनिधिले पनि आफूलाई नेतृत्वमा देख्न चाहेको उनको दाबी छ । प्रतिनिधिकाबीच गएर सबैलाई भोटको अपिल गर्ने पनि उनी बताउँछन् ।
उनको समावेशी दृष्टिकोण र परिवर्तनशील नेतृत्व शैलीका कारण उनी अध्यक्ष पदका लागि सशक्त उम्मेदवारको रूपमा स्थापित भएका छन् । उनले व्यवस्थान संकायबाट स्नातकोत्तरसम्म अध्ययन गरेका छन् ।
रावलसँगै सातजना नेतृत्वका लागि आकांक्षी छन् । हालसम्म अध्यक्षका लागि रावल, वर्तमान अध्यक्ष चन्द्र बहादुर वोहरा, डिबी साउद, शिवप्रसाद उपाध्याय, बमबहादुर विसी र तिलक कुँवर प्रमुख दाबेदार छन् ।
साथै नेकपा एकीकृत समाजवादीबाट एमालेमा फर्किका नेता हिरण्ड भट्टराईको नाम पनि अध्यक्षको दौडमा चर्चामा रहेको छ । यद्यपि उनको औपचारिक धारणा भने सार्वजनिक भइसकेको छैन । उनीहरु सबैले आ–आफ्नो ठाउँबाट लबिङ गरिरहेका छन् ।
भीम रावल 'कालोटोपी' : विद्यार्थी आन्दोलनदेखि एमाले नेतृत्वको दौडसम्मको राजनीतिक यात्रा
राजनीतिमा युवा पुस्ताको प्रतिनिधित्व गर्दै अगाडि बढिरहेका नेकपा (एमाले) अछामका जिल्ला सचिव भीम रावल (कालोटोपी) को राजनीतिक यात्रा विद्यार्थी जीवनदेखि नै सुरु भएको हो ।
संगठन निर्माणदेखि नेतृत्व विकाससम्मको उनको सक्रियता पार्टीभित्र नयाँ पुस्ताका लागि प्रेरणादायी छ । वि.सं. २०५२÷५३ मा भएको विद्यार्थी आन्दोलनमार्फत उनी पहिलोपटक संगठित राजनीतिमा प्रवेश गरे ।
त्यसको केही समयमै, २०५४ सालमा अछामको शोेडशा माविमा अनेरास्ववियु (एमालेनिकट विद्यार्थी संगठन) को प्रारम्भिक कमिटी सदस्य बनेर औपचारिक भूमिकामा प्रवेश गरे । सोही वर्षको अन्त्यतिर उनी अनेरास्ववियु क्षेत्रीय कमिटीमा समेत चयन भए ।
विद्यार्थी राजनीतिमा अग्रसर हुँदै, उनले अछाम बहुमुखी क्याम्पसमा स्ववियुको जिम्मेवारी सम्हाले । स्थानीय तहमा संगठन निर्माणमा आफूलाई सक्रिय राखेका रावल अध्ययनका लागि काठमाडौं पुगेपछि पनि राजनीतिमा निरन्तर सक्रिय रहे ।
काठमाडौंमा उनले कर्मश क्याम्पसबाट अनेरास्ववियुमा प्रारम्भिक कमिटी सदस्यको रूपमा काम सुरु गरे । पछि सहसचिव हुँदै अध्यक्ष पदसम्म पुग्न सफल भए । क्याम्पसस्तरको स्ववियु निर्वाचनमा विजय हासिल गरेर उनी लोकप्रिय विद्यार्थी नेताको रूपमा स्थापित भए ।
उनको संगठनात्मक उचाइ क्रमशः बढ्दै गयो । उनी अनेरास्ववियु बागमती प्रदेश कमिटी सदस्य, केन्द्रीय सदस्य, उपत्यका बागमती प्रदेश संयोजक, केन्द्रीय सचिवालय सदस्य, संघीय मामिला विभाग प्रमुख हुँदै स्थायी कमिटी सदस्य बने ।
तर अनेरास्ववियुको २२ औं राष्ट्रिय महाधिवेशनमा सचिव पदमा पराजित भएसँगै उनले विद्यार्थी राजनीति बाट विदा लिए ।
विद्यार्थी राजनीति पश्चात पनि रावलले राजनीतिमा निरन्तर सक्रियता देखाए । वि.सं. २०५९ मा उनी अछाम–काठमाडौं सम्पर्क मञ्चको सदस्य बने ।
त्यसपछि सचिव हुँदै २०६४ सालमा प्रत्यक्ष निर्वाचनमार्फत मञ्चको अध्यक्ष बने । त्यसपछि उनी सुदूरपश्चिम सम्पर्क मञ्चको प्रदेश कमिटी सदस्य तथा सम्पर्क समन्वय विभागको सदस्यको रूपमा पनि क्रियाशील भए ।
उक्त अनुभवसहित उनी पार्टीको मूलधार राजनीतिमा फर्किए । जिल्ला कमिटी सदस्य भएर सुरु गरेको यात्रा आज उनी जिल्ला सचिवको जिम्मेवारीमा निरन्तर छन् ।
यो अनुभवलाई जिल्लास्तरीय राजनीतिक अभ्यासमा प्रभावकारी रूपमा उपयोग गर्दै आएका रावल पार्टीभित्र युवाप्रति आस्था राख्ने अनुहारको रूपमा परिचित छन् ।
शैक्षिक पृष्ठभूमिको कुरा गर्दा, उनले व्यवस्थापन संकायबाट स्नातकोत्तर तहसम्मको अध्ययन पुरा गरेका छन् ।