काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहितका नेताहरूले नियोजित ढंगले सरकार परिवर्तन हुने सार्वजनिक अभिव्यक्ति दिइरहेका बेला परराष्ट्रमन्त्री राणाले त्यसको कडा खण्डन गरेकी छन् ।
परराष्ट्रमन्त्री आरजु राणा देउवाले सरकार परिवर्तनको हल्ला मनोरञ्जनका लागि मात्रै भएको बताएकी छन् ।
थाइल्याण्डको भ्रमण सकेर स्वदेश फर्किएकी परराष्ट्रमन्त्री राणाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुरा गर्दै सरकार परिवर्तनको हल्ला मात्रै भएको दाबी गरेकी हुन् ।
उनले भनिन्–‘यो हल्ला मात्रै हो । केही समय मौनता भयो भने मनोरञ्जनका लागि न्यूजहरु आउने गर्छ । सरकार परिवर्तन त नेपालभित्रै बसेर गर्नुपर्ने होला विदेशमा बसेर हुँदैन । न्यूज हेरेर हामी आफै छक्क पर्यौं ।’
बैंकक भ्रमणमा कांग्रेस सभापति शेरबहादुर देउवाले कुनै पनि राजनीतिक भेटघाट नगरेको बताइन् ।
उनले भनिन्–‘उहाँको यो स्वास्थ्य चेकअप, चिया खान र पसर्ननल भ्रमण हो, राजनीति भेटघाटको कुनै कार्यक्रम थिएन ।’
मन्त्री राणाले बैंककबाटै सभापति देउवा र प्रधानमन्त्री ओलीबीच हिजो टेलिफोनमा कुराकानी भएको जानकारी दिइन् ।