काठमाडौं । सत्तारुढ दल नेकपा एमालेले देशमा देखिएका समस्याहरू पछिल्लो सरकारको कारण मात्रै नभएको जिकिर गरेको छ ।
पार्टीको तर्फबाट शुक्रबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै सांसद गोकर्ण विष्टले समस्याहरू समाधान गर्नेगरी सरकार अघि बढेको बताए ।
उनले भने–‘देशमा यी उल्लेखित समस्या र चुनौतीभन्दा बाहेक बहुआयामिक खालका समस्या पैदा भइरहेका छन् । केही समस्यामा विश्व अर्थव्यवस्थाका कारण छन् भने केही समस्या आन्तरिक कारण पनि छन् । यी समस्याहरू केवल ९ महिनाको सरकारको अवधिमा पैदा भएका होइनन् । यी समस्याहरू लामो समयदेखि थुप्रिएका समस्याहरू सामना गर्नेगरी सरकार अघि बढेको छ ।’
चुनौतीका पहाडलाई केवल ९ महिनाको अभ्यास र कार्यान्वयनले परिणाममा पुर्याउन नसक्ने बताउँदै उनले भने–‘यो कुरा संसद् र आम दाजुभाई दिदीबहिनीले गम्भीर रुपमा सोच्नुपर्ने अवस्था छ ।’
कांग्रेसका असन्तुष्ट नेतालाई जवाफ– सत्ता कि प्रतिपक्षमा हुनुहुन्छ चिन्न गाह्रो भो
एमालेका सचिव विष्टले दुई ठूला दल मिलेर बनेको केपी ओली नेतृत्वको सरकार राजनीतिक स्थिरताको लागि बनेको बताएका छन् ।
उनले भने–‘यो सरकार गयो गयो भनेर निराशा र अस्थिरता पैदा गरिने प्रयास हुँदैछ । त्यसमा कुनै सत्यता छैन । दुई दलबीचको आपसी समझदारी र सहमतिको आधारमा अघि बढिरहेका छन् । कहीँ कतै समस्या छन् भने राजनीतिक संयन्त्रहरू छन् । असहमति भए त्यहीँ नै समाधान खोजौँ ।’
उनले सरकार ढल्दैछ भनेर निराशा पैदा गर्ने काम कसैले पनि गर्न नहुने बताए ।
कांग्रेसका असन्तुष्ट नेताहरूलाई लक्षित गर्दै विष्टले भने–‘कहिलेकाहीँ त यस्तो लाग्छ । सत्तामा रहेका साथीहरू पनि सत्तामा हुनुहुन्छ कि प्रतिपक्षमा, चिन्न पनि गाह्रो हुने खालको अवस्था पैदा हुन्छ । यो प्रकारको अवस्थाबाट माथि उठौँ । गठबन्धन सरकारलाई मर्यादित ढंगले नै अगाडि बढाऔं ।’