गोरखा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनअपेक्षा अनुसार काम गर्न नसकेको स्विकारेका छन् ।
आज बारपाकमा भूकम्प स्मृति दिवसलाई सम्बोधन गर्ने क्रममा उनले जनताको मतबाट निर्वाचित व्यक्ति प्रधानमन्त्री र मुख्यमन्त्री हुँदा पनि विकास सोचे जति नभएको बताएका हुन् ।
उनले भने–हाम्रै मतबाट गएको मान्छे प्रधानमन्त्री, हाम्रै मतबाट गएको मान्छे मुख्यमन्त्री भएपछि तुरुन्तै रातारात विकासको लहर चल्छ भन्ने सोच्नुभएको थियो । त्यो अनुसार गर्न सकिएन भन्ने कुरा मैले महसुस गर्न चाहन्छु । तर केही पनि भएन, केही पनि गरिएन भन्ने भाष्य बनाइयो भने त्यो चाहिँ सत्य होइन ।’
प्रचण्डले राष्ट्रिय राजनीतिको जटिल परिस्थितिमा पनि यस क्षेत्रको विकास निर्माणका कामलाई सक्दो सहयोग गरेको दाबी गरे ।
उनले बारपाक ढल निकास आयोजना २८ करोडको ठेक्का लगाएर काम अघि बढेको, १० करोडको खानेपानी आयोजना, बारपाक बहुप्राविधिक शिक्षालयको छात्रावास तथा प्रशिक्षण भवन, सहिद आशाकाजी श्रेष्ठ स्मृति रङ्गशाला, निर्वाचन क्षेत्रीय रणनीतिक सडकमा ३ करोड विनियोजन गरिएको, ताक्लुङको हुँडीखोला पुल निर्माणको पहल गरेको लगायत काम गरिएको बताए ।
‘दोस्रो संविधान सभाको निर्वाचनबाट पनि संविधान नबन्ने त होइन भन्ने प्रश्न थियो । देशको भविष्यबारे निकै ठुलो चिन्ता जनतामा थियो । त्यही बेलामा बारपाक केन्द्र बिन्दु भएको भूकम्प गयो,’ उनले भने–‘सम्पूर्ण देशको मनोविज्ञान अर्को ठाउँमा पुग्यो । म नै सायद त्यस्तो पहिलो प्रतिपक्षी दलको नेता हो, जसले सदनको रोष्ट्रममा उभिएर अब म प्रतिपक्षी दलको नेता रहिनँ भनेँ । संविधान घोषणाको प्रस्तावक पनि म थिएँ ।’