अछाम । नेकपा एमाले अछामको ९औं जिल्ला अधिवेशनको पूर्वसन्ध्यामा जिल्लाभर चासो र उत्सुकता उत्कर्षमा पुगेको छ । वैशाख १३ गते मंगसेनमा आयोजना हुने उक्त अधिवेशनको उद्घाटन पार्टीका केन्द्रीय सचिव तथा सुदूरपश्चिम इन्चार्ज लेखराज भट्टद्वारा गरिने तय भइसकेको छ ।
उनी शुक्रबार नै अछाम आइपुगेका छन् । अधिवेशनबाट एमाले अछामको नयाँ नेतृत्व चयन हुँदैछ, जसले पार्टीको आगामी यात्राको दिशा निर्धारण गर्नेछ ।
हालसम्म जिल्लाध्यक्ष पदका लागि वर्तमान अध्यक्ष चन्द्र बोहरासहित सात जना नेताहरूले आफ्नो उम्मेदवारी सार्वजनिक गरेका छन् । आकांक्षी उम्मेदवार नेताहरूमा बोहरा सँगसँगै पार्टीका वर्तमान सचिव भीम रावल (कालोटोपी), बम बहादुर बिसी, शिवराज उपाध्याय, तिलक कुँवर, डीवी साउँद र हिरेण्ड भट्टराइ रहेका छन् ।
उम्मेदवारको चहलपहलले अधिवेशन प्रतिस्पर्धात्मक र लोकतान्त्रिक अभ्यासको उत्कृष्ट उदाहरण बन्ने संकेत दिएको छ । यद्यपि प्रतिस्पर्धामा उम्मेदवारहरूको बाक्लो उपस्थिति देखिए पनि, धेरैजसो नेता तथा कार्यकर्ताहरूले पुनः चन्द्र बोहरालाई जिल्ला अध्यक्षमा निरन्तरता दिनुपर्ने आवाज उठाइरहेका छन् ।
बोहराले पार्टी विभाजनपछिको संवेदनशील घडीमा एमाले अछामको संगठनलाई सम्हाल्दै एकता, स्थिरता र सक्रियता कायम राख्न सफल नेतृत्व प्रदान गरेको नेताहरूको भनाइ छ ।
पूर्व उपाध्यक्ष डा. भीम रावल र अध्यक्ष केपी शर्मा ओलीबीचको राष्ट्रिय स्तरको राजनीतिक मतभेदका बीच पनि बोहराले जिल्लामा एमालेलाई कमजोर हुन नदिई संगठनलाई एकीकृत राख्ने साहस, धैर्य र कूटनीतिक कौशल प्रस्तुत गरेका थिए ।
पार्टी कार्यकर्ता प्रशिक्षण, सांगठनिक सुदृढीकरण, जनसंपर्क र नीति संवादजस्ता कार्यक्रमहरू उनको नेतृत्वमा नियमित रूपमा सञ्चालन हुँदै आएका थिए, जसले पार्टीलाई गाउँगाउँसम्म पुनः सक्रिय बनाएको छ।
स्थानीय तहका जनप्रतिनिधिदेखि वडास्तरका कार्यकर्ता सम्मले बोहराको व्यवस्थापकीय क्षमताको प्रशंसा गर्दै उनलाई आगामी कार्यकालका लागि उत्तम विकल्पको रूपमा देखिरहेका छन् । नेतृत्व सर्वसहमतिमा टुंगो लगाउने प्रयास भइरहेको छ ।